मुख्यमन्त्री चौधरी भन्छन्- कोरियाबाट आउने छ्याङ किन्ने अनि थारुको घरम बनेको मदिरा घोप्ट्याउनुपर्ने ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।
भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढावा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए । स्वदेशी उत्पादनहरू प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरू बनाउनका लागि भूमिका खेल्न आयोगलाई उनले अनुरोध गरे ।
मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्ट्याउनुपर्ने स्थिति छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’
स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि मार्केटिङ गर्न नसकेको चौधरीको भनाइ छ । अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्नेमा उनले जोड दिए ।
जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु आवश्यक रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरूलाई जोड दिनुपर्छ भन्ने सधैँ आफ्नो मान्यता रहेको श्रेष्ठले बताए । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपपर्यो,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौं ।’
लेखकको सम्वन्धमा