चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
कपिलवस्तु ।आसन्न चाडपर्वहरूलाई सुरक्षित र व्यवस्थित बनाउन कपिलवस्तु प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना तथा समसामयिक विषयमा आयोजित पत्रकार एवं सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रहरीले सुरक्षा रणनीतिबारे जानकारी दिएको हो।
शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न आजैबाट जिल्लाभर ६४ वटा मोटरसाइकलमा दुई-दुई जना हतियारसहितका प्रहरी कर्मचारी आवश्यक सम्पूर्ण सामानसहित चौबीसै घण्टा खटिने गरी व्यवस्था मिलाइएको छ। कुनै पनि स्थानमा घटना, दुर्घटना वा आपराधिक गतिविधि भएको जानकारी पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुग्ने कपिलवस्तुका प्रहरी उपरीक्षक (SP) मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। “गाडी जान नसक्ने साँघुरा र अप्ठ्यारा बाटोहरूमा पनि मोटरसाइकल टोली सहजै र छिटो पुग्न सक्ने गरी यो व्यवस्था गरिएको हो,” एसपी भट्टले भन्नुभयो।
सुरक्षा योजनाअन्तर्गत चाडपर्वको अवधिभर ११ वटा गाडी तयारी अवस्थामा राखिने छ। यी गाडीहरूले सुरक्षा प्रदान गर्नुका साथै आकस्मिक अवस्थामा कुनै पनि नागरिकलाई समस्या पर्दा एम्बुलेन्सको रूपमा समेत सेवा दिने एसपी भट्टले स्पष्ट पार्नुभयो।
जिल्लाको सुरक्षा व्यवस्थालाई अझ प्रविधिमैत्री र कडा बनाउन स्थानीय पालिकाहरूसँग समन्वय गरी २८८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। जसको माध्यमबाट जिल्लाका ५८ वटा संवेदनशील स्थानहरूबाट प्रत्यक्ष निगरानी गरिने प्रहरीले जनाएको छ।
अपराध नियन्त्रण र शङ्कास्पद गतिविधिको निगरानीका लागि सादा पोसाकका प्रहरी (सदा पोसाकका प्रहरी कर्मचारी) समेत व्यापक रूपमा परिचालन गरिनेछ। चाडपर्वमा सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन आजैबाट सम्पूर्ण प्रहरी कर्मचारीहरूको बिदा समेत बन्द गरिएको छ।
यसैगरी, चाडपर्वका बेला घर फर्कने र यात्रा गर्ने सर्वसाधारणको सहजता तथा उनीहरूलाई हुनसक्ने ठगी वा सास्तीबाट जोगाउन जिल्लाका विभिन्न ९ वटा मुख्य स्थानहरूमा ‘यात्रु सहायता कक्ष’ (Passenger Help Desk) स्थापना गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ।

लेखकको सम्वन्धमा