छोराछोरीको व्यवहारमा आएको परिवर्तन बुझ्न अभिभावकलाई आग्रह, घरमै संवाद गर्नुपर्नेमा जोड
बुटवल । छोराछोरी किशोरावस्थामा प्रवेश गरेपछि उनीहरूको व्यवहार, सोचाइ र रुचिमा आउने परिवर्तनलाई अभिभावकले जिद्दीपन वा अनुशासनहीनताका रूपमा मात्र नलिई बुझ्ने प्रयास गर्नुपर्नेमा जोड दिइएको छ। किशोरकिशोरीका भावना बुझेर सही मार्गदर्शन गर्न सके बालविवाह, लागूऔषध दुर्व्यसनलगायतका जोखिम न्यूनीकरण गर्न सकिने भन्दै रुपन्देहीको देवदहमा अभिभावकलाई सचेत गराइएको छ।
देवदह नगरपालिका–१२, ढोलबजवास्थित प्रगति माध्यमिक विद्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा किशोरावस्थामा हुने शारीरिक, मानसिक, सामाजिक तथा यौनिक परिवर्तन र त्यस अवस्थामा अभिभावकले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको हो। सिक्टहन स्वास्थ्य चौकीको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको सहयोगमा कार्यक्रम भएको थियो। कार्यक्रममा सहजीकरण गर्दै केरवानी हेल्थ पोस्टका इन्चार्ज तथा प्रशिक्षक काशीराम रेग्मीले किशोरावस्थामा बालबालिकाले आफ्ना विचारलाई महत्व दिन खोज्ने, स्वतन्त्र हुन चाहने, साथीहरूसँग बढी नजिकिने र आफूलाई अरूले नबुझेको महसुस गर्ने जस्ता व्यवहार देखाउन सक्ने बताए।
यस्तो अवस्थामा उनीहरूलाई गाली गर्ने वा दबाब दिनेभन्दा उनीहरूको कुरा सुन्ने, भावना बुझ्ने र उचित मार्गदर्शन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। किशोरावस्थामा आफ्नो शारीरिक स्वरूपप्रति बढी चासो राख्ने, मन चञ्चल हुने, छिटो रिसाउने, एक्लै बस्न रुचाउने तथा विपरीत लिङ्गप्रति आकर्षण बढ्नेजस्ता परिवर्तन देखिन सक्ने रेग्मीले बताए। यी परिवर्तनलाई स्वाभाविक रूपमा बुझ्दै प्रजनन स्वास्थ्य, यौन शिक्षा र स्वस्थकर व्यवहारबारे सही जानकारी दिनु आवश्यक रहेको उनले उल्लेख गरे। परिवार, विद्यालय र साथी समूहमा किशोरावस्थाका विषयमा खुलेर संवाद नहुँदा बालबालिकाले आवश्यक जानकारी नपाउने र बालविवाहको जोखिम बढ्न सक्ने विषय पनि कार्यक्रममा उठाइएको थियो।
किशोरकिशोरीलाई सही सूचना दिनुका साथै उनीहरूका समस्या र जिज्ञासा सहज रूपमा राख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए। सिक्टहन स्वास्थ्य चौकीका प्रमुख रेशम सुनुवारले किशोरकिशोरीमा आउने परिवर्तनबारे अभिभावकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कालिका स्वावलम्बन सामाजिक केन्द्रको समसारा परियोजनाका टिम लिडर अभिनव चौधरीले प्रजनन स्वास्थ्य, यौन शिक्षा तथा लागूऔषध दुर्व्यसनबारे सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए।
सिक्टहन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिना खातुनले किशोरकिशोरीको स्वास्थ्य, सुरक्षा र समग्र विकासका लागि अभिभावकलाई सचेत बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। देवदह–१२ टोल सुधार समितिका अध्यक्ष दुरमान गुरुङले बालविवाह अन्त्य गर्न अभिभावकले घरमै छोराछोरीसँग लाज नमानी खुलेर कुराकानी गर्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका–१२ का वडाध्यक्ष डेगबहादुर सारू मगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडामा काम गर्दै आएको बताए। नजिकै भन्सार नाका रहेकाले लागूऔषध ओसारपसार तथा किशोरकिशोरी कुलतमा फस्ने जोखिमप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै उनले अभिभावक र किशोरकिशोरीलाई लक्षित सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। कालिका स्वावलम्बन सामाजिक केन्द्र समसारा परियोजनाका रुपन्देही जिल्ला संयोजक गौमती सुनारले संस्थाले सामाजिक सचेतना र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
सिक्टहन स्वास्थ्य चौकीकी सी.अ.न.मी. देवी विकले सञ्चालन गरेको कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, मिल अफिसर मेनुका सिंह, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको सहभागिता थियो।

लेखकको सम्वन्धमा