बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
बुटवल । बुटवलमा आयोजित अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्सबाट तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।
जगदम्बा मोटर्स प्रालिले बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा शनिबार तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा क्वालिफायर्स आयोजना गरेको हो।
क्वालिफायर्समा बुटवल क्षेत्रका ७६ जना राइडर सहभागी भएका थिए। सहभागिता बढेपछि ७६ जनामै दर्ता प्रक्रिया रोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको १६० सीसी वर्गमा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने। अभिषेक पन्थी ३४.६२ सेकेन्डमा प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डमा द्वितीय उपविजेता बने।
तीनै राइडरले ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्। ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्वालिफायर्सबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन्।
क्वालिफायर्सअघि सहभागीलाई नेपालका पूर्व ARE GP विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र चारपटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा देखिएको सहभागिताले मोटरस्पोर्ट्सप्रतिको बढ्दो आकर्षण देखाएको बताए। उनले धेरै सहभागी पहिलोपटक ट्र्याकमा उत्रिए पनि राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर प्रतिस्पर्धामा सहभागी भएको बताए।
ARE GP ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। त्यहाँ ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसर रहने आयोजकले जनाएको छ।
जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृति विकास गर्ने उद्देश्यसहित काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय क्वालिफायर्स आयोजना गरिरहेको छ।

लेखकको सम्वन्धमा