बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन नजिकिँदै गर्दा महासचिव पदका लागि बसन्तप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलबाट महासचिवका उम्मेदवार बनेका ढकालले उद्योगी–व्यवसायीका समस्या संस्थागत रूपमा उठाउँदै समाधानका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
ढकाल यसअघि बुटवल उद्योग वाणिज्य संघको कोषाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। संघका विभिन्न आन्तरिक समितिमध्ये वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी समितिको संयोजकको जिम्मेवारीसमेत उनले सम्हाल्दै आएका छन्।
महासचिव पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य संघलाई उद्योगी–व्यवसायीको साझा समस्या उठाउने र समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने संस्थाका रूपमा थप सुदृढ बनाउनु रहेको ढकालको भनाइ छ।
उनले व्यवसायीका दैनिक समस्या, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कर्जा तथा ब्याजदरका विषय, व्यवसाय सञ्चालनका प्रशासनिक झन्झट तथा बजार व्यवस्थापनजस्ता विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।
नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले सार्वजनिक गरेको २० बुँदे प्रतिबद्धतापत्रमा व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया सरल र पारदर्शी बनाउने, मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने, युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने र साना तथा मझौला व्यवसायको संरक्षण गर्ने विषय समेटिएका छन्।
त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जाका विषयमा नियमित संवाद गर्ने, भन्सार तथा आयात–निर्यात प्रक्रिया सहजीकरण गर्ने, डिजिटल भुक्तानी तथा अनलाइन व्यापारलाई प्रोत्साहन गर्ने र व्यवसायीका समस्या समाधानका लागि संघबाटै एकद्वार सहायता प्रणाली स्थापना गर्ने प्रतिबद्धता पनि प्यानलले सार्वजनिक गरेको छ।
ढकालले संघको संस्थागत क्षमता बढाउँदै उद्योगी–व्यवसायीको आवाज सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महासचिवको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
‘व्यवसायीका समस्या सुन्ने, सम्बन्धित निकायसँग संवाद गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने संस्थाका रूपमा संघलाई थप प्रभावकारी बनाउनु आवश्यक छ,’ ढकालले भनेका छन्।
बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन असोज २३ देखि २६ गतेसम्म हुँदैछ। निर्वाचन कार्यक्रमअनुसार असोज २६ गते मतदान हुने तय भएको छ ।

लेखकको सम्वन्धमा