३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता

३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
0 0
Read Time:3 Minute, 45 Second

बुटवल। बुटवलमा तीन दशकभन्दा लामो समयदेखि व्यवसाय गर्दै आएका अलिम दिनले बुटवल उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिएका छन्। व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय उनले संघमा रहेर व्यापारीका समस्या समाधान र रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताएका छन्।

करिब ३२–३३ वर्षदेखि बुटवलमा कस्मेटिकलगायतका व्यवसाय गर्दै आएका अलिम दिन विगत १६–१८ वर्षदेखि बुटवल उद्योग वाणिज्य संघमा आबद्ध छन्। साधारण सदस्यबाट संघको यात्रा सुरु गरेका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपाध्यक्ष र सभापतिसमेत भएर काम गर्ने अवसर पाएको बताए।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय उनले भूकम्प, कोरोना महामारी तथा बाढीपहिरोजस्ता विपद्का समयमा राहत वितरण, प्रभावितलाई खाना खुवाउने र स्वास्थ्यसम्बन्धी सहयोगका काममा भूमिका खेलेको बताए। कोरोना महामारीका बेला अक्सिजन प्लान्ट स्थापनाका लागि पहल गर्नुका साथै खोप उपलब्ध गराउन समन्वय र राहत वितरणमा समेत सक्रिय रहेको उनको भनाइ छ।

बाढीपीडितलाई खाना खुवाउनेलगायतका सामाजिक कार्यले आफूलाई समाजप्रति थप जिम्मेवार बनाएको उनले बताए। संघमा रहेर काम गर्दा व्यापारीका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने अनुभव प्राप्त भएको भन्दै उनले अब पनि व्यवसायीको हितमा काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गरे।

विभिन्न व्यवसायमार्फत रोजगारी सिर्जना

अलिम दिनले कस्मेटिक व्यवसायसँगै चप्पल, गिफ्ट तथा अन्य व्यावसायिक क्षेत्रमा समेत लगानी गरेका छन्। उनले व्यावसायिक प्रयोजनका उत्पादन देशभर पुर्‍याउने कामसमेत गर्दै आएका छन्।

उनका अनुसार हाल विभिन्न व्यवसायमार्फत करिब २५–२६ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ। उत्पादनको बजार विस्तारसँगै आगामी दिनमा रोजगारीका अवसर बढाउने लक्ष्य रहेको उनले बताए।

‘व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना गर्नु पनि हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘आगामी दिनमा व्यवसायलाई थप विस्तार गरेर धेरैलाई रोजगारी दिने लक्ष्य राखेको छु।’

व्यापारीका समस्या समाधान गर्ने लक्ष्य

व्यापारीका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने अलिम दिनको प्रतिबद्धता छ। आफूले संघमा रहेर प्राप्त गरेको अनुभवलाई व्यापारीको हितमा उपयोग गर्न चाहेको उनले बताए।

साथीहरूको अमूल्य मतबाट निर्वाचित हुन सके व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र सामाजिक सेवाका कामलाई निरन्तरता दिने उनको भनाइ छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %