मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
Lबुटवल । बुटवल–२, मैनाबगरस्थित सूर्योदय प्राथमिक विद्यालयमा १६५ जना विद्यार्थीको निःशुल्क मुख तथा दन्त परीक्षण गरिएको छ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सले आयोजना गरेको एकदिने निःशुल्क मुख स्वास्थ्य शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो।
डा. गरिमा बस्यालको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले विद्यार्थीहरूको मुख तथा दन्त परीक्षण गरेको हो। परीक्षणसँगै विद्यार्थीहरूलाई मुख स्वास्थ्यको महत्व, दाँतको सरसफाइ तथा सही तरिकाले ब्रस गर्ने विधिबारे जानकारीसमेत दिइएको थियो।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव योगेन्द्र कँडेलले शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको जानकारी दिए। उनले क्लबले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई सामाजिक उत्तरदायित्वका रूपमा निरन्तर अघि बढाउँदै आएको बताए।
कार्यक्रम संयोजक यादव भण्डारीले रोटरी क्लबले आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा हालसम्म एक लाख विद्यार्थीको मुख स्वास्थ्य परीक्षण गरिसकेको बताए। अब थप एक लाख बालबालिकासम्म पुग्ने लक्ष्यसहित कुल दुई लाख बालबालिकाको मुख स्वास्थ्य परीक्षण तथा मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययन गर्ने विद्यालयलाई लक्षित गरी क्लबले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। रोटरी क्लबले आफ्नो सामाजिक कर्तव्यअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्दै आएको उनले बताए।
आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुषालले मुख स्वास्थ्यसम्बन्धी अभियानलाई निरन्तरता दिँदै विद्यालय–विद्यालयमा पुगेर बालबालिकालाई मुख स्वास्थ्यका विषयमा सचेत गराउँदै आएको बताए। बालबालिकालाई सानै उमेरदेखि सही तरिकाले ब्रस गर्ने, दाँत तथा मुखको सरसफाइमा ध्यान दिने र नियमित रूपमा मुख स्वास्थ्य परीक्षण गराउने बानीको विकास गराउन अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक शोभा गेंह्वालीले विद्यालयमा रहेका विभिन्न किसिमका समस्या समाधानमा सामाजिक संघसंस्था तथा क्लबहरूको महत्वपूर्ण योगदान रहेको बताइन्। विद्यालयमा आर्थिक तथा अन्य स्रोतको अभावका कारण देखिने समस्या समाधानमा सामाजिक संस्थाबाट प्राप्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्न आग्रह गरिन्।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पोखरेलले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
क्लबका अध्यक्ष बालकृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोभा गेंह्वाली प्रमुख अतिथि तथा कार्यक्रम संयोजक यादव भण्डारी विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुषाललगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव योगेन्द्र कँडेलले गरेका थिए।
मुख स्वास्थ्य शिविरसँगै क्लबले विद्यालय परिसरमा वृक्षरोपणसमेत गरेको जनाएको छ।

लेखकको सम्वन्धमा