लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीले बिहिबार दाबी पेस गर्ने
बुटवल । गठबन्धनका दलहरू लुम्बिनी प्रदेश सरकार गठनको तयारीमा लागिपरेका छन् । गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा भोलि प्रदेश प्रमुखले तोकेकै समयमा दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।
आजको लागि तयारी भए पनि विभिन्न कारणले ढिलाइ भएकोले भोलि ४ बजेभित्रै बहुमतसहित सरकार दाबी गरिने माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बताए । ‘आजै पेस गर्ने तयारी भए पनि विभिन्न कारणले भएन । भोलि ४ बजेभन्दा अघि नै मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले बहुमतसहित दाबी गर्नु हुन्छ,’ उनले भने ।
यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
यहाँ बहुमतको लागि ४४ सांसाद आवश्यक पर्नेछ । गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

लेखकको सम्वन्धमा