सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा
0 0
Read Time:14 Minute, 25 Second

बुटवल । एक दशकअघि एमाले नेता विष्णुप्रसाद पौडेलले सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना सुनाउँदा अन्य पार्टीकाले मात्रै होइन उनकै पार्टीकै नेताकार्यकर्ताले हावामा उठाउँथे । तीन दशकयता संसदीय राजनीतिमा एकपटकबाहेक निरन्तर रहेका उनले गर्नैपर्ने सूचीमा राखेका योजना जसरी पनि पार लगाएका छन् । त्यही संकल्पभित्रको योजना सिद्धबाबामा सुरुङमार्ग । पाल्पाबाट ०५१ सालमा सांसद बनेका उनी त्यसयता निरन्तर रुपन्देहीलाई केन्द्र बनाएर राजनीति गरिरहेका छन् । विकासे नेताको पहिचान बनाएका उनलाई उनको भन्दा फरक पार्टीमा आस्थावानले पनि यसलाई सहजै स्वीकार गर्दछन् । ०६४ सालयताका पौडेलले आफ्ना घोषणा पत्रमा यसलाई लगातार राख्दै आएका छन् ।

वर्षामा मात्रै होइन हिउँदमा समेत मानवीय र भौतिक क्षति गरेपछि दीर्घकालीन समाधानको लागि पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरुङमार्ग बनाउने सपना उनले बनाएको बताउँदै आएका छन् । सबैभन्दा महत्वपूर्ण पक्ष त उनले आयोजनाका लागि आफू सत्तामा हुँदा र नहुँदा निरन्तर फलोअप गरे र फरक पार्टीका नेताहरु सरकारमा हुँदा पनि यसलाई केन्द्रमा राखेर अगाडि बढाउन लगाए । यही क्षेत्रको सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । अर्थमन्त्रालयमा तत्कालीन अवस्थामा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख रहेका श्रीकृष्ण नेपालले यो आयोजना सरकारको नेतृत्वमा नेपालमै पहिलो भएको र सफल भएको बताए । ‘स्वीसले प्राविधिक सहयोग दियो, स्रोत नेपालबाटै भयो, यो सरकार आफैले गरेको पहिलो टनेल हो, तल्लो सिद्धबाबादेखि दोभानसम्म सबै बाटो सुरक्षित बनाउने योजना यसमा समेटिएको छ’ उनले भने ।

मृत्यु मार्गको नामले परिचित सिद्धबाबा क्षेत्रमा हुने घटना यो सुरुङमार्ग संचालनमा आएपछि कमी त होला तर पूर्ण समाधान भने हुनेछैन । यो क्षेत्रको करिब ७ किलोमिटर संकटग्रस्त सडकमा मुख्य समस्या रहेको ११ सय मिटरमा मात्रै सुरुङमार्ग बनेको हो । आयोजनाका अनुसार अन्य स्थानमा सडक बिस्तार र सुरक्षित बनाउने काम पनि यही योजनामै समेटिने छ तर तल्लो सिद्धबाबादेखि दोभानसम्मको क्षेत्र पूर्णरुपमा सुरक्षित बन्छ वा बन्दैन त्यो हेर्न बाँकी छ ।

गौरवको आयोजनामा राखिएको बहुचर्चित सिद्धबाबा सुरुङमार्ग काम थालेको छोटो समयमा ‘ब्रेक थ्रु’ चरणमा आइपुगेकाले पनि अहिले बढी चर्चामा छ । २०८० माघ ४ गतेदेखि खन्न थालिएको सुरुङमार्गको ब्रेक थ्रु’ माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रमको निश्चित भएको छ । अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई ल्याएर आफ्नो सपना देखाउने तयारीमा छन् । यो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत आउने निश्चित भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा निर्माणाधीन १ हजार १२६ मिटरको सुरुङमार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । ब्रेक थ्रु गर्ने दिनको लागि एक मिटरको ब्लास्ट बाँकी राखेर अरु काम सकिएको छ । आयोजनाले पुस मसान्तमै ब्रेक थ्र गर्ने गरी काम सकेको थियो तर प्रधानमन्त्रीको समय नमिलेका कारण ढिलाई भएको हो । सुरुङमार्गमा आपतकालीन अवस्थामा उद्धारको लागि भनेर दुई वटा हेलीप्याड बनाइएको इन्जिनियर ज्ञवालीको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यूसहित विशिष्ट पाहुनाहरूको साथ ब्रेक थ्रु सेलिब्रेसन गर्ने कार्यक्रम माघ ११ गतेलाई छ, हामीले सबै तयारी गरिसकेका छौं’ ज्ञवालीले भनिन्, ‘यो सुरुङमार्गको प्रवेश विन्दु र निकास विन्दुमा इमरजेन्सी रेस्क्युको लागि दुई वटा हेलीप्याड पनि हुन्छ ।’ हालसम्म सुरुङमार्गको भौतिक र वित्तीय ४० प्रतिशत भएको छ । अहिले टनेलको ढलान र लाइटिङको काम पनि भइरहेको छ ।

आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले माघ ११ गते प्रधानमन्त्रीज्यूबाट अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रमको सबै तयारी भएको जनाए । पहाडलाई तराईसँग जोड्ने सुरुङले पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको छ । सुरुङमार्गको सञ्चालन हुने बाटोमा आएपछि रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, पोखरासम्म जाने आउने यात्रुहरूमा खुसियाली छाएको छ । दोभानदेखि चिडियाखोलासम्म चार किमि अत्यधिक पहिरो आउने क्षेत्रभित्र पर्छ । यस खण्डलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङमार्गको अध्ययन गरेर बजेट सुनिश्चित गरेको थियो ।

कहिले र कसरी सुरु भयो ?

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेण्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त रहेको छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो । सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा सुरुङ मार्गको चाइना कम्पनीले ठेक्का पाएको हो । नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउने काम गरिरहेको छ । नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलाई गर्दा आलोचना बेहोरेको कम्पनीले दुई वर्ष भित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु¥याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो । सडकमाथि धेरै अग्लो स्थानबाट पहिरो खस्छ । माथिल्लो भेगबाट खसेको पहिरो यहाँ देख्न सकिन्न । २०२२ सालमा सिद्दार्थ राजमार्ग निर्माण सुरू भएको हो । २०२८ सालमा पोखरासम्म पूरा भए पनि सरकारलाई २०३५ सालमा बुझाएको हो ।

रुपन्देहीको सिमाना चिडियाखोलादेखि झुम्सासम्मको ९ किलोमिटर क्षेत्र अत्यन्तै जोखिमपूर्ण रहेको छ । त्यसमा पनि झण्डै चार किलोमिटर क्षेत्रमा हिउँद होस् वा वर्षा जहिले पनि ढुंगा खस्ने, पहिरो झर्ने गरेको छ । सडक निर्माण गर्दा नै अत्यन्तै कमजोर भौगर्भिक स्थानबाट रेखांकन भएकाले पनि अहिले समस्या भएको हो । कमजोर भौगर्भिक स्थानबाट सडक निर्माण भएकाले मर्मत सम्हार गर्नलाई प्रत्येकवर्ष चुनौती हुने गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्र अन्यत्र भन्दा बढी जोखिम छ । झण्डै चार किलोमिटर क्षेत्रमा पछिल्लो १४ वर्षमा ९८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ । यस अवधिमा ६७ दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । १८ वर्षको तथ्यांकमा तानसेन–वुटवल ३८ किलोमिटर सडकमा २ सय बढीको ज्यान गएको छ । ७ सय बढी घाइते र अंगभंग भएका छन् । कालोपत्रे गरेर सवारी गुडेको ५५ वर्ष नाघिसकेको छ ।

कहिले पूर्ण हुन्छ ?

सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ । यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ । अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । त्यसबाहेक सडकमा ९ सय मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्नेछ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ । यस खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने आयोजनाले जनाएको छ ।

यस्तै सम्झौता शर्तअनुसार सुरुङमार्गको वारेन्टी, सञ्चालन तथा मर्मत सम्भारको लागि ५ वर्ष तोकिएको छ । यो ५ वर्षसम्म सञ्चालन र मर्मत सम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ । निर्माणकै क्रममा रहेकाले यो सुरुङमार्ग प्रयोग गरी सवारी साधन गुडाउनेले शुल्क तिर्नुपर्ने वा नपर्ने बिषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङमार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारी साधन गुडाउन पाइने व्यवस्था छ ।

अर्को महत्वपूर्ण आयोजनाको शिलान्यास गरिँदै

यसैदिन रुपन्देही र कपिलवस्तु जोड्ने मुख्यराजमार्ग स्तरोन्नतिको शिलान्यास गरिँदैछ । प्रधानमन्त्री ओलीले बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डको शिलान्यास गर्ने कार्यक्रम पनि छ । सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले प्रधानमन्त्री सुरुङमार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन गर्न आउँदा त्यही मौकामा सडकको औपचारिक शिलान्यास कार्यक्रम राखिएको उनले बताइन् । बुटवल जीतगढीमा शिलान्यास कार्यक्रम गर्ने तयारी रहेको इन्जिनियर न्यौपानेले बताइन् ।

‘सडकको काम शुरू भइसकेको छ, पहिलो पुलहरू बन्नेछन्, अहिले बुटवल नारायणगढ जस्तो जताततै भत्काइँदैन । जति बनाउने हो त्यति भत्काउँदै अघि बढनेछ,’ उनले भनिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %