गगन र विश्वप्रकाशले भने – ‘अतिवादी चिन्तनलाई परास्त गर्न कांग्रेस सजग रहनेछ’

गगन र विश्वप्रकाशले भने – ‘अतिवादी चिन्तनलाई परास्त गर्न कांग्रेस सजग रहनेछ’
0 0
Read Time:3 Minute, 2 Second

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको बताएका छन् । यसकाे इमानदार समीक्षा गर्नु पर्ने उनीहरूले बताएका छन् ।

“यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्छ । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गनुपर्नेछ,” उनीहरूले भनेका छन् ।

संसदीय लोकतान्त्रिक परिपाटीमा जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न आफ्नो पार्टी सदैब सजग रहने पनि उनीहरूले बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनीहरूले आफ्नो संस्थापक नेता बीपी कोइरालाको मेलमिलापको नीति अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

“आजको समयसम्म आइपुग्दा वैचारिक रुपान्तरणले होस् या बाध्यताले नेपालका प्राय सबै राजनैतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् । लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ,” कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसमा हामीले सन्तोष मान्नुपर्छ किनकि मुलतः यो बीपी कोइरालाको राजनैतिक विचार र प्रभावको विजय हो । तर, यसै व्यवस्था भित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न नेपाली कांग्रेस सदैब सजग रहनुपर्छ, रहनेछ ।”

राष्ट्रिय एकता र मेलमिलापको आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली भएको भन्दै उनीहरूले सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति सम्भव रहेको बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %