‘लुम्बिनीका विकास आयोजना राम्रा भए पनि कतै समस्याग्रस्त पाइयो’
बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरिरहेका भौतिक पूर्वाधारका कामलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
प्रदेशमा भइरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउँदै जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी अगाडि बढाउन सरकारको ध्यान जानुपर्ने उनीहरूले बताएका हुन् ।
बुटवलमा सेवा फाउन्डेसनले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले प्रदेशका १० जिल्लामा सरकारले निर्माण गरेका आयोजनाहरूको अनुगमन गरेको जानकारी दिए । उनले अनुगमनका क्रममा ती विकास आयोजनामध्ये केही राम्रा र केही समस्याग्रस्त पाइएको बताए । आवधिक योजनाअनुसार काम नभएको तथा आयोजना छनोटमा समेत कमजोरी देखिएकाले अब काम गर्दा सुधार गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।
सभापति घिमिरेले समितिले लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक १० जिल्लामा गरेको अनुगमन प्रतिवेदन प्रदेश सभामा बुझाएको र अब सुरु हुने हिउँदे अधिवेशनमा यसबारे थप छलफल हुने जानकारी दिए । उनले प्रदेश सरकारले करिब ११ हजार आयोजना सञ्चालन गरेको उल्लेख गर्दै विकास आयोजनाको तथ्याङ्क स्पष्ट र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।
सरकारले विकास ऐनको उचित कार्यान्वयन नगरेको, आयोजनाहरूको तथ्यांक व्यवस्थित नपाइएको र कतिपय आयोजनाहरू अलपत्र परेको लगायतका समस्याहरू उनले औँल्याए ।
कार्यक्रममा बेलायती राजदूतावासको तथ्यांक टिम लिडर फ्रिडिका वट्रासीले तथ्यांकलाई व्यवस्थित गर्दै जनतासँग विकासलाई थप जोड्नुपर्ने आवश्यकतामाथि जोड दिइन् । जनताले प्रत्यक्ष लाभान्वित हुने गरी भौतिक विकासका क्षेत्रमा लगानी गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताइन् ।
लुम्बिनी प्रदेशका पूर्व पर्यटन मन्त्री तथा प्रदेश सभा सदस्य खड्क बस्नेतले प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सभाका समितिहरूको अनुगमन र निगरानी सशक्त हुनुपर्ने धारणा राखे । त्यस्तै, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले सरकारले अघि बढाएका भौतिक विकासका कार्यहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।

प्रतिकृया दिनुहोस्