बुटवलमा गठबन्धनको संकल्प पत्र सार्वजनिक
बुटवल,बैशाख २० ।
बस्नयोग्य बुटवल बनाउने संकल्पसहित रुपन्देहीको बुटवलमा पांचदलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ ।
गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै पत्रकार सम्मेलन मार्फत् चुनाबी संकल्प पत्र सार्वजनिक गरेको हो।
बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेय, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नुभयो ।
संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका थिए । उहाहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूतिगर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताउनुभयो।
साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरणसार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।
कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले भन्नुभयो-‘म बुटवलबासीको साझा हुन चाहन्छु,नगरमा सबैदलको अपनत्व हुने वाताावरण मिलाउंछु,बिकासमा समानुपातिक तवरले अघि बढ्छु ।’
चुनाव जितेपछि बिपि,पुष्पलाल र सूर्यप्रसाद प्रधान (बुटवल बिकासका धरोहर ) को शालिक बनाएर सम्मान गर्ने उहाको भनाइ छ ।
संकल्प पत्रमा भनिएको छ–‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’
पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।
घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।
यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पु¥याइने,सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।
हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।
यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।
बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ । यस्तै संकल्प पत्रमा भनिएको छ–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ ।
स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ ।बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’
यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।
‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’
यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्