विराटनगरको लगातार दोस्रो जित, काठमाण्डू पाँच विकेटले निराश

विराटनगरको लगातार दोस्रो जित, काठमाण्डू पाँच विकेटले निराश
0 0
Read Time:4 Minute, 5 Second

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । लिगअन्तर्गत शनिबार (मंसिर ६)को दोस्रो खेलमा विराटनगरले काठमाण्डू गोर्खाजलाई पाँच विकेटले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरको जितमा ओपनर जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । मार्टिन गप्टिलले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यी दुईले २१–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति ५३ रनको साझेदारी गर्दै विराटनगरलाई जितनजिक डोर्‍याएका थिए । बसिर अहमेदले १७ बलमा एक चौका र एक छक्कासहित १९ रन जोडे । नरेन भट्टले २४ र ओपनर लोकेश बमले १० बलमा दुई छक्कासहित १४ रन बनाए ।

काठमाण्डूका साहब आलमले दुई विकेट लिए । उनले चार ओभरमा १९ रन मात्र खर्चिए । कप्तान करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाण्डूका अलराउन्डर आदील आलम अन्सारी सर्वाधिक ४८ रनको योगदान गरे । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

सन्तोष यादवले ३४ बलमा एक छक्कासहित २६ रन बनाए । आदील र सन्तोषले ५६–५ को नाजुक स्थितिबाट ४५ रनको साझेदारी गर्दै काठमाण्डूलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए ।

ओपनर बेन चार्ल्सवर्थले ३३ बलमा एक चौका र दुई छक्कासहित ३२ रन जोडे । गेरहार्ड इरास्मसले १० रन थपे । काठमाण्डूका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

त्यसअघि, काठमाण्डूले ओपनर आकाश त्रिपाठीलाई शून्य, रिकार्डो भास्कोन्सेलोसलाई तीन र प्रतीक श्रेष्ठलाई दुई रनमा गुमाएको थियो ।

काठमाण्डूलाई मध्यम योगफलमा रोक्न विराटनगरका मर्चेन्ट डी लाङ्गेले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले १७ रन मात्र खर्चिए । सूर्य तामाङ, सुभम रन्जाने र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।

वाटको शतकप्रेरित लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित
प्रतियोगितामा काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल थियो । लगातार दुई जितसँगै विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

तीन खेलमा दोस्रो हार व्यहोरेको काठमाण्डूको भने दुई अंक मात्र छ । काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %