नातिको मृत्यु, छोरोलाई हृदयाघात: भाेट दिन थापा दम्पतीले राखेका सर्त खाँणले सुन्लान् कि बोहोराले?
‘खोइ कसलाई दिने, आधा घन्टाअगाडि थाहा हुन्छ कसलाई भोट हाल्ने, माहाैल कसको हुन्छ, त्यतै जान्छ भोट’, भैरहवा बुद्धचोकका स्थानीय बासिन्दा असलम खानले भने । चिया उमाल्दै गरेकी शर्मिला पौडेलले पनि भन्दै थिइन्, ‘खोइ कसलाई हाल्ने हो ? सबै आउँछन्, मै राम्रो भन्छन् । हामीलाई भोट भन्छन् । पछि नै थाहा हुन्छ ।’
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाताको मनस्थिति यस्तै पाइन्छ । यहाँ नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका दीपक बोहरा प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट खाँण र एमाले–राप्रपा–जसपाबाट बोहोराबीचकाे प्रतिस्पर्धामा वर्तमान शक्ति र विगतको शक्तिबीचको प्रतिस्पर्धा पनि हो ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले गरेका कामहरू उदाहरण दिँदै उनले भनिन्, ‘हामीलाई बालेन र हर्क साम्पाङले जस्तै काम गर्ने मान्छे चाहिएको हो । तर के गर्नु, त्यस्ता मान्छे हाम्रोमा हुँदैनन् ।
सिद्धार्थनगर– ९, उदयपुरमा मगर संघको कार्यक्रममा हलभित्र खाँण चुनावी भाषण गर्दै थिए । गृहमन्त्रीको सुरक्षा र कार्यकर्ताको आउजाउले त्यहाँकाे माहाैल छुट्टै थियाे । बाहिर मूल सडकमा हरिजन दम्पती धान भित्र्याउन व्यस्त थिए ।
‘बादल लागिरहेको छ । बाली जोगाउनुपर्छ । चुनाव पनि लागेको छ के गर्ने पेटपहिले हेर्नुपर्छ,’ उमेश हरिजनले भने । मत कसलाई दिने भन्ने निर्णय उनले गरिसकेका छैनन् । ‘भोटको अहिलेसम्म केही मेसो छैन,’ हरिजनले भने । उनले घरदैलोमा आउने उम्मेदवारले भोट माग्ने गरेकोमा सबैलाई हुन्छ भन्ने गरेका छन् ।
पञ्चायतकालमा चारपटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका बोहोराले यसपटकको चुनाव अन्तिम भएको बताएका छन् । खाँण र बोहोरा २०७४ को चुनावमा सहयात्री थिए । कांग्रेस र राप्रपाबीच गठबन्धन हुँदा राप्रपाका बोहोरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । त्यसबेला बोहोरालाई जिताउन मत मागेका खाँण अहिले भने उनै बोहोराका प्रतिस्पर्धी छन् । २०७४ सालमा खाँण समानुपातिकमा बसेर बोहोरालाई जिताउन सकेनन् । चुनाव एमालेका घनश्याम भुसालले जिते । बाेहाेराले २०६४ सालमा भएको संविधानसभाको चुनावमा तत्कालीन रुपन्देही ३ बाट एमाले नेता लीला गिरीलाई पराजित गरेका थिए । २०७० सालमा भने एमाले नेता भुसाललाई पराजित गरेका थिए ।
भुसालले ३२ हजार ८ सय ६६ मत ल्याउँदा बोहोराले २७ हजार ४ सय २२ मत ल्याएका थिए । त्यतिबेला राप्रपा विभाजित थियो । वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले १ हजार ८ सय ५६ मत ल्याएका थिए ।
आयल निगमको जग्गा खरिद काण्डमा समेत संलग्न रहेको आरोप लागेका बोहोरा चुनावी खेलाडी मानिन्छन् । पञ्चायतकालमा विभिन्न काण्डका कारण राष्ट्रवादी विद्यार्थी मण्डललाई पञ्चायतभित्रै मण्डले भन्न थालिएको थियो । कमल थापा, दीपक बोहोरा, टंक ढकालजस्ता नेताहरू सोही पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन् । उनी नेपाली राजनीतिमा सत्ता, शक्ति र पैसाका लागि जुनसुकै गठबन्धन गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् ।
बहुदलीय व्यवस्था आएपछि बोहोराले ०७० सालको चुनाव मात्र जितेका छन् । २०४८ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी खाँण २०५१ मा समेत संसद्का उम्मेदवार थिए । २०३० सालबाट राजनीति सुरु गरेका खाँण कांग्रेसको संस्थापनभित्रका खेलाडीको रूपमा परिचित छन् ।
यता खाँणका भाइ रामकृष्ण खाँण तिलोत्तमा नगरपालिका प्रमुख एवं कांग्रेस जिल्ला सभापति छन् । पत्नी मञ्जु खाँणलाई समानुपातिक सूचीमा राखेपछि बालकृष्णलाई परिवारवाद लादेको आरोप छ । राप्रपाका सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ कांग्रेसमा प्रवेश गरेपछि कृष्ण अर्यालले कार्यवाहक अध्यक्ष सम्हालिरहेका छन् । बोहोराको जित्ने सम्भावना रहेको उनले बताए ।
‘गृहमन्त्री भए पनि उहाँले सत्ताको दुरुपयोग गर्नुहोला भन्ने आशंका तल्लो तहमा रहेछ । प्रशासनले भोट हाल्ने होइन । हामीलाई डर छैन,’ उनले भने । तालमेल भएकाले एमालेबाट मत क्रस हुने डर भने नरहेको उनले बताए ।
एमाले गुटको प्रभाव रुपन्देहीको तल्लो तहमा पुगेको छ । ‘घनश्याम भुसालका मान्छेहरूले केही बिगार्लान् कि नत्र ६ हजार मतले हामी लिड गर्छौं,’ अर्यालले भने । कांग्रेसभित्रको असन्तुष्टिलाई क्यास गर्ने नीतिमा एमाले गठबन्धन छ । ‘भैरहवाको छोरा हुन् दीपक बोहोरा, तपाईंहरू विश्वस्त भएर जानुस्,’ उनले भने ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतअनुसार राप्रपा कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हो । अर्थात् नेपाली कांग्रेससँग ३४ हजार १५३ मत, एमालेसँग २९ हजार ४८ मत, राप्रपासँग १३ हजार ३९७ मत, जसपासँग ६ हजार १८३, माओवादी केन्द्रसँग २ हजार ८८१, लोसपासँग दुई हजार १७४ र एकीकृत समाजवादीसँग ९७७ मत छ ।
यसरी हेर्दा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले नेतृत्वको एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । यस आधारमा खाँण बोहोराभन्दा ६ हजार ४६१ मतले पछाडि देखिन्छन् । जनमुक्ति पार्टीले सहयोग गरेपछि सत्ता गठबन्धनलाई सहयोग पुग्ने देखिन्छ ।
‘हामीले ३ हजार ५ सय मान्छे पार्टीमा प्रवेश गराएका छौँ’, कांग्रेस क्षेत्रीय सभापति तथा गठबन्धनका चुनावी कमाण्डर सुशील गुरुङले भने, ‘उहाँ टेस्टेड व्यक्ति हुनुहुन्छ । के बाँकी छ उहाँले दिने योगदानमा ? सबै भोगिसकेका छाैँ नि ।’
खाँणले समानुपातिक सांसद हुँदा ३ नम्बर मा १० वटा पुल बनाएको, बुद्ध सर्किट र चक्रपथको योजना ल्याएको उनले सुनाए ।
बोहोरा अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । उनी भ्वाइस रेस्टमा छन् । ‘निर्वाचित भएर बोल्न नसक्ने सांसद संसदमा जाने कुरा हुन्छ र ?,’ गुरुङले भने ।
कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले यसभित्रको सानो घटना पनि बाहिर आउने उनले बताए । ‘अरुको पार्टीमा बबन्डर हुने घटना छन्, ती बाहिर आउँदैनन् । कांग्रेस लोकतान्त्रिक पार्टी हो । मैले एक झापड हानेँ भने पनि ब्याङ ब्याङ हुन्छ, अरुमा गोली हाने पनि बाहिर आउँदैन,’ गुरुङले भने ।
गृहमन्त्री भएर शक्तिको दुरुपयोग गरेकाे आरोप राजनीतिक दलले लगाएको उनले बताए । ‘सरकारले राज्यको सुविधा हटाइदेओस् । हाम्रो नेतालाई हामी संरक्षण गर्छौं । यो चुनावी फण्डा हो,’ उनले भने, ‘०७४ मा बोहोरा स्वास्थ्यमन्त्री थिए । त्यसलाई पनि मतदाताले बिर्सेका छैनन् ।’
यहाँ पार्टीको महाधिवेशनका क्रममा शेखर काेइराला समूहका कार्यकर्तामाथि भौतिक आक्रमणसमेत भएकाले कांग्रेसभित्रै असहयोग हुने सम्भावना पनि छ । त्यसको फाइदा लिने रणनीतिमा राप्रपा छ । खाँणलाई तिलोत्तमा र सिद्धार्थनगरकाे प्रमुख कांग्रेसले जित्नु सबल पक्षको रूपमा लिइएको छ । भैरहवा लाेसपाका प्रदेश उम्मेदवार सन्तोष पाण्डेकाे साथले बलियो भएको मानिन्छ । भैरहवा र दक्षिणी भाग बोहोराको आधार क्षेत्र मानिन्छ ।
बुद्धचोकबाट उदयपुरतिर लाग्दैगर्दा बाटोमा एमाले गठबन्धनको निर्वाचन परिचालन कमिटीको कार्यालय छ । रामजन थापा ७६ वर्षका भए । उनी एमाले कार्यकर्ता हुन् । उनकी श्रीमती बिन्दा थापा पनि ७० वर्षकी भइन् । एमाले गठबन्धनको प्रचारमा खटिइरहेका छन् । १८ वर्षका नातिको उपचारका क्रममा निधन भयो । सो खबर सुन्नासाथ ५० वर्षीय छोरा राजु हृदयाघातबाट अस्वस्थ छन् । उनी हिँड्न सक्दैनन् । ‘अपांग छोरालाई कसैले सहयोग गर्देला कि भनेर आएका हौँ । घरको आम्दानी गर्ने ऊ एक्लै थियो, त्यो पनि त्यस्तो भयो,’ रामजनले भने, ‘जसले सहयोग गर्छ, उसैलाई हाम्रो भोट ।’ यति भन्दै उनीहरू हतारिएर हिँडे । शिलापत्रकाे सहयाेगमा

लेखकको सम्वन्धमा