कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ

कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
0 0
Read Time:7 Minute, 28 Second

बुटवल । कपिलवस्तु नगरपालिकामा लैंगिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा पहुँच, लक्षित वर्गका लागि बजेट विनियोजन, महिलाका सवाल तथा न्यायिक समितिको कामकारबाहीका विषयमा नागरिकले प्रश्न उठाएका छन्।

एफसीडीओ, यूएन वुमन नेपाल, हाम्रो साहस र गभर्नेन्स ल्याबको सहकार्य तथा गभर्नेन्स ल्याबको आयोजना र कपिलवस्तु नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीय तहको नीति, योजना तथा बजेटमा लैंगिक उत्तरदायित्व र समावेशितालाई प्रभावकारी रूपमा समेट्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीले नगरपालिकाको न्यायिक समितिमा हालसम्म परेका ४६ वटा उजुरीको अवस्था, नागरिकको पहुँच तथा समितिको कामप्रतिको विश्वास र विश्वसनीयताबारे जानकारी मागेका थिए। न्यायिक समितिको काम निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

त्यस्तै, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि विनियोजन गरिएको बजेटको प्रभावकारी कार्यान्वयन, सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारिता र लक्षित समुदायको सहभागिताबारे समेत प्रश्न उठाइएको थियो। योजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन तथा अनुगमनका हरेक चरणमा लक्षित वर्गको सहभागिता सुनिश्चित गर्नुपर्ने सहभागीको भनाइ थियो।

गभर्नेन्स ल्याबकी प्रदेश संयोजक राधा अधिकारी भट्टराईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्। उनले यस्ता कार्यक्रमले स्थानीय सरकार र जनता बिच समन्वयको बातावरण निर्माण हुनुका साथै नीति निर्माणमा पनि महत्त्वपूर्ण भुमिका राख्ने बताईन।

महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरीले प्रस्तुतीकरणमार्फत लैंगिक उत्तरदायी तथा समावेशी शासनका विभिन्न पक्ष, स्थानीय तहको अवस्था तथा सम्बोधन गर्नुपर्ने सवालबारे जानकारी गराएकी थिइन्।

चौधरीले महिला तथा बालबालिकाको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि सीप तथा नेतृत्वसम्बन्धी तालिम सञ्चालन भइरहेको बताइन्। अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि सहायता, सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गरिएको उनले जानकारी दिइन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्यानल डिस्कसनसमेत गरिएको थियो। पत्रकार पूजा पन्थीको सहजीकरणमा भएको प्यानल छलफलमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, सामाजिक विकास शाखा प्रमुख तथा वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठ र महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरी सहभागी थिए।

प्यानल छलफलमा विशेषगरी लैंगिक उत्तरदायी तथा समावेशी बजेट, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सेवा, महिलाका सवाल, नीति तथा योजना निर्माणमा महिलाको सहभागिता, लक्षित वर्गका लागि सञ्चालित कार्यक्रम र स्थानीय तहबाट प्रदान हुने सेवामा समान पहुँचका विषय उठेका थिए।

सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले आवश्यकता पहिचान गरी सीप विकास, क्षमता अभिवृद्धि तथा आयआर्जनसँग जोडिएका कार्यक्रम सञ्चालन गरिएको बताए। उनले लक्षित समुदायको आवश्यकता र अवस्थाका आधारमा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए।

उठेका सवालप्रति प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले लैंगिक उत्तरदायी तथा समावेशी शासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट निर्माण गरिने बताए।

लक्षित वर्गको आवश्यकता पहिचान गरी कुनै पनि नागरिक अधिकार तथा अवसरबाट वञ्चित नहुने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए।

उनले न्यायिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र पहुँचयोग्य बनाउँदै नागरिकका गुनासा तथा विवादको प्रभावकारी सम्बोधनमार्फत न्यायिक समितिप्रतिको विश्वास बढाउने प्रतिबद्धता जनाए।

सहभागी सरोकारवालाले नगरपालिकाले गरेका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने र आगामी बजेट तथा कार्यक्रम निर्माणमा महिला, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका सवालको स्पष्ट प्रतिबिम्ब देखिनुपर्नेमा जोड दिएका थिए।

समावेशी शासन कागजमा मात्र सीमित नभई नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमको स्वागत मन्तव्य लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष वरीराम चौरसियाले गरेका थिए भने सञ्चालन सहायक योजना अधिकृत नारायण रेग्मीले गरेका थिए।

कार्यक्रममा वडाध्यक्षहरू जाहिद खान, रवेन्द्रनाथ तिवारी, रामजीत कुर्मी, दीपक गुरुङ, मोहनलाल शर्मा, रामगोपाल यादव र इन्सान अली धुनियालगायत कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो।

यस्तै, गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डे, नारी शिल्पकला केन्द्रकी उपाध्यक्ष जुनु श्रेष्ठ, नवजीवन संस्थाकी कार्यक्रम संयोजक तथा फोकल पर्सन प्रेरणा विष्टलगायतको उपस्थिति रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %