विष्णु पौडेलले सार्वजनिक गरे घोषणापत्र, कालिगण्डकी डाइभर्सन अघि बढाउने प्रतिबद्धता
बुटवल । रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफुले त्यसलाई कार्यान्वयन गर्ने जनाए ।पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने पुनः प्रतिबद्धता गरेका छन् । प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘सिँचाई, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने छ ।’
प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।
यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका शहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिबद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन् । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ । सो पत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।’
यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ ।
यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।
बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने पौडेलले प्रतिबद्धता गरेका छन् ।

लेखकको सम्वन्धमा