जनजी आन्दोलनको असर : कृष्णनगर भन्सारमा राजस्व संकलनमा गिरावट
कपिलबस्तु । जनजी आन्दोलनका कारण नियमित काम प्रभावित भएपछि कपिलबस्तुको कृष्णनगर भन्सार कार्यालयले भदौ महिनामा मासिक राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको छ।
भदौ महिनामा ५० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएकोमा कार्यालयले ४३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ, जसले मासिक लक्ष्यको ८४.७८ प्रतिशत मात्र पुरा भएको छ। भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले आन्दोलनका कारण राजस्व संकलनमा समस्या आएको जानकारी दिनुभयो।
यसअघि साउन महिनामा पनि कृष्णनगर भन्सार कार्यालयले ४८ करोड ३९ लाख रुपैयाँको लक्ष्य विरुद्ध ४० करोड मात्र राजस्व उठाउन सफल भएको थियो। सो अवधिमा लक्ष्यको ८२.६४ प्रतिशत मात्र संकलन भएको कार्यालयले जनाएको छ।
भदौ महिनाको २३, २४ र २५ गते आन्दोलनका कारण कार्यालयको सेवा प्रवाहमा समस्या आएको र त्यसपछि मात्रै नियमित कामकाज सुचारु भएको भन्सार प्रमुख खतिवडाले बताए।
यस आर्थिक वर्षका लागि कृष्णनगर भन्सार कार्यालयलाई ५ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएको छ। तर अहिलेसम्म जम्मा १४.७८ प्रतिशत मात्र संकलन भएको कार्यालयले जनाएको छ।
कृष्णनगर भन्सारमार्ग हुँदै कोइला, फलामका कच्चा पदार्थ, चामल, बियर उद्योगका लागि आवश्यक माल्ट केन लगायतका सामग्री आयात हुने गर्छन्।

लेखकको सम्वन्धमा