लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति
बुटवल । लुम्बिनी विकास कोष र निर्माण व्यवसायीहरूबीच चारबुँदे सहमति भएको छ । कोषका पदाधिकारीहरूमाथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमा लिखित क्षमा याचना गरेपछि विवाद समाधान भएको हो ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा कोषका पदाधिकारी, पूर्वमन्त्री, संघीय सासद र सरोकारवालाहरूको बैठकमा चारबुँदे सहमति भएको हो । सहमतिमा कोषमा आगामी दिनमा यस्ता क्रियाकलापहरू नगर्ने/नगराउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
यस्तै, यही ८ असोजमा भएको घटनामा संलग्न दोषीहरूउपर निष्पक्ष छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।
यस्तै, निर्माण व्यवसायीहरूको तर्फबाट परिचालन हुने सब–कन्ट्र्याक्टरलगायतका अन्य व्यक्तिहरूको जिम्मेवारी/जवाफदेहिता स्वयम् निर्माण व्यवायीहरूले लिने, निर्माण व्यवसायीहरूले सम्पादित कार्यको नियमानुसार पाउने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीहरूले अब उप्रान्त घेराउ, धर्नालगायतका क्रियाकलापहरू नगर्ने/नगराउने सहमतिसमेत भएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।

लेखकको सम्वन्धमा