युवाको चाहना अनुसार नवप्रवर्तनलाई सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह, चाहना र सोचका आधारमा सरकारले उद्यमशीलताको विकासमा ध्यान दिएको उल्लेख गरे। उनले युवालाई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
युवाको ऊर्जा, सृजनशीलता र नवप्रवर्तनबाटै समृद्धिको आकांक्षा पूरा गर्न सकिने बताउँदै उनले सकारात्मक सोच र निरन्तरको प्रयासले मात्र समृद्धिको सपना पूरा हुने भएकाले यस अभियानमा सबै मिलेर अघि बढ्न जरुरी बताए ।
उनका अनुसार लुम्बिनी प्रदेश सरकारले युवाको सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्टार्टअप योजनामा विशेष ध्यान दिएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उत्पादनमुखी र रोजगारीमुखी कार्यमा संलग्न गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।

लेखकको सम्वन्धमा