रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
बुटवल। रोटरी क्लब अफ तिनाउ बुटवलको दशौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५/२६ की अध्यक्ष उमा आचार्यले वर्ष २०२६/२७ का लागि अध्यक्षको जिम्मेवारी माया देवी भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो।
रोटरी डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिष्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले रोटरीले मानव सेवालाई केन्द्रमा राखेर सञ्चालन गरिरहेका अभियानहरू समाज रूपान्तरणका लागि प्रभावकारी बन्दै गएको बताउनुभयो।
नेपालमा १६३ वटा रोटरी क्लब रहेको र तीमध्ये महिलाको नेतृत्वमा पाँचवटा क्लब सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले महिला नेतृत्वले उत्कृष्ट नतिजा दिएको धारणा राख्नुभयो। तिनाउ बुटवलले पनि छोटो समयमै सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै छुट्टै पहिचान बनाएको उहाँको भनाइ थियो।
डिष्ट्रिक्ट सचिव लक्ष्मण ज्ञवालीले क्लबको पहिचानलाई थप सशक्त बनाउँदै सेवा र मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
क्लबका सल्लाहकार तथा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले स्थापनाको छोटो अवधिमै क्लबले रोटरीभित्र विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी नेतृत्वले त्यसलाई अझ उचाइमा पुर्याउने गरी योजना बनाउनुपर्ने बताउनुभयो। उहाँले पूर्वअध्यक्ष र सदस्यहरूको सक्रिय सहकार्य क्लबको सफलताको आधार हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा असाइन्ड असिस्टेन्ट गभर्नर दिनेशमणि सुवेदी र इन्जिनियर दुजेन्द्र बस्नेतले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा पछाडि परेका समुदायको उत्थानका क्षेत्रमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।
निवर्तमान अध्यक्ष उमा आचार्यले आफ्नो कार्यकालमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी दिँदै एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले मखमली जुत्ता बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको र तीन जना विपन्न परिवारका छोरीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो। अधुरा रहेका कार्यक्रमलाई नयाँ नेतृत्वले निरन्तरता दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष माया देवी भट्टराईले आफ्नो कार्यकालमा वृक्षरोपण, स्वास्थ्य सचेतना, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा रोटरीका मूल्यमान्यताअनुसार सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले ‘छोरी शिक्षा’ अभियानअन्तर्गत विपन्न परिवारका छात्रालाई छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा क्लबका संस्थापक देवी वाग्ले, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम बोहोरा, पूर्वअध्यक्षहरू कल्पना तिवारी र रमिला शर्मा, निवर्तमान सचिव सबिता निरौला, प्रेसिडेन्ट इलेक्ट समा प्रवीण, सचिव रमा क्षेत्री तथा रोट्र्याक्ट क्लब अफ तिनाउका अध्यक्ष सिर्जना भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

लेखकको सम्वन्धमा