बुटवलमा सार्वजिनक सुनुवाइ : सेवाप्रवाहका विषयमा प्रश्न

बुटवलमा सार्वजिनक सुनुवाइ : सेवाप्रवाहका विषयमा प्रश्न
0 0
Read Time:5 Minute, 23 Second

बुटवल । बुटवल उपमहानगरपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा नगरकाे सेवा प्रवाह, शिक्षा, स्वास्थ्य्य, राेजगार, तथा सरसफाइकाे विषयमा नगरबासीले प्रश्न उठाएका थिए ।

नगरप्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय सरकारको उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै नागरिकहरूले उठाएका विषयहरू कार्यपालिकामा विस्तृत छलफल गरी सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “सुनुवाइ कार्यक्रममा सरोकारवाला क्षेत्र नै अनुपस्थित हुनु दुखद हो। अब मिडियामै आएर किन नआएको भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ।”

नगरप्रमुख पाण्डेयले बुटवलको सडक पूर्वाधार सुधारतर्फको प्रगतिबारे जानकारी दिँदै बताए, “बुटवल १ देखि १० सम्मका सबै सडकमा पीच गरिएको छ। वडा ११ देखि १३ मा ८० प्रतिशत र वडा १४ देखि १९ सम्मका क्षेत्रमा ५० प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको छ।” उनले बिपद् जोखिम न्यूनीकरणसम्बन्धी योजनाहरू पनि कार्यान्वयन भइरहेको जनाए।

उपप्रमुख साबित्रा अर्यालले उपमहानगरपालिकाले महिला तथा युवाहरूलाई रोजगारीमा जोड्न तथा व्यवहारिक शिक्षाको प्रवर्द्धनमा प्राथमिकता दिइरहेको जानकारी दिइन्। “हामी शिक्षालाई मात्र होइन, रोजगारी सँग जोडिएको व्यवहारिक ज्ञानमा लगानी गरिरहेका छौं,” उनले भनिन्।
ट्राफिक प्रहरी कार्यालयका एसपी मित्रबन्धु शर्माले बुटवललाई सुन्दर र सुरक्षित बनाउन सडक तथा साधनको सुव्यवस्थित आवागमन जरुरी भएको बताए। उनले सर्भिस लेनमा पार्किङको अनियन्त्रित समस्या, नो पार्किङ बोर्डको अभाव तथा ट्राफिक कानुनको पालना गर्न नागरिकहरूमा चेतना अभिवृद्धिको आवश्यकता औंल्याए।
बुटवल इप्रका डीएसपी इन्द्र रानाले लागूऔषधको समस्या, आत्महत्याको घटनामा वृद्धि र अनलाइन ठगीलाई देशव्यापी चुनौतीको रूपमा औंल्याउँदै उपमहानगरले मानसिक स्वास्थ्य र जनचेतना अभिवृद्धिमा थप ध्यान दिनुपर्ने सुझाब दिए। “आत्महत्या न्यूनीकरणमा उपमहानगरले आवश्यक कार्यक्रम ल्याओस्,” उनले आग्रह गरे।
नेपाली कांग्रेसका उपसभापति ज्योती भण्डारीले कार्यक्रमलाई रणनीति निर्माण र नागरिक संवादको उत्कृष्ट माध्यमको रूपमा लिएर सकारात्मक टिप्पणी गरे । “हामी नतिजामा विश्वास गर्छौं। राम्रो कामको प्रचार भयो भने काम गर्ने उर्जा थपिन्छ,” उनले भने ।
एमाले बुटवल अध्यक्ष सोभाखर पोखरेलले सेवा प्रवाहमा जनताले असहजता भोग्नुपरेको उल्लेख गर्दै एक पटक सेवा लिन गएका नागरिकले बारम्बार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिए। “हामी डिजिटल युगमा छौं, एक पटक सेवाग्राही गयो भने पुनः जानु नपरोस्,” उनको भनाइ थियो। उनले गौरवका योजनाहरू अगाडि नबढ्दा बुटवल पछाडि परेको गुनासो पनि गरे।
राष्ट्रिय जनमुक्ति पार्टी बुटवलका अध्यक्ष भेकबहादुर थापाले ऐतिहासिक व्यक्तित्व उजिरसिंह थापाको सम्मानस्वरूप प्रतिमा संरक्षणको माग गरे। उनले पटक–पटक हुने विद्युत् कटौतीले जनतालाई सास्ती दिएको गुनासो गरे।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न सार्वजनिक सुनुवाइलाई सशक्त फोरमका रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले ट्राफिक व्यवस्थापन, हरियाली प्रवर्द्धन र पार्किङ समस्यातर्फ ध्यान दिनुपर्ने सुझाव दिए। “सर्भिस लेनमा पार्किङ समस्या स्थायी रूपमा देखिएको छ। माली नियुक्तिमा पनि समस्या छ,” उनले उल्लेख गरे।
क्लव अध्यक्ष रामकुमार क्षेत्रीले नागरिक अभिमत प्रस्तुत गरेका थिए भने सहजिकरण पूजा पन्थीले गरेकी थिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %