सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
कपिलबस्तु । कपिलबस्तु जिल्लाका सुठौली र कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा राजस्व संकलन गरेका छन्। दुवै कार्यालयले आ–आफ्नो वार्षिक लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएका छन् भने सुठौली भन्सार कार्यालयले त लक्ष्यमाथि २५ प्रतिशतले बढी राजस्व संकलन गरेको छ।
सुठौली भन्सार: लक्ष्यको १२५ प्रतिशत राजस्व संकलन
सुठौली भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व लक्ष्य ८० करोड ७ लाख ७३ हजार रुपैयाँ निर्धारण गरिएको थियो। आषाढ २३ गतेसम्म उक्त कार्यालयले करिब १ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्दै लक्ष्यको १२५ प्रतिशत नाघेको भन्सार अधिकृत नारायण प्रसाद गैरेले जानकारी दिए।

उनका अनुसार सुठौली भन्सारबाट मुख्यतया कोइला, सिमेन्टको खरानी, खाद्यान्न, तरकारी, फलफूल जस्ता वस्तुहरू आयात हुने गरेका छन्।
कृष्णनगर भन्सार: ९६ प्रतिशत राजस्व संकलन
त्यस्तै, कृष्णनगर भन्सार कार्यालयले पनि आषाढ २३ सम्ममा आफ्नो वार्षिक राजस्व लक्ष्यको ९६ प्रतिशत संकलन गरिसकेको छ। उक्त कार्यालयको लक्ष्य ५ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा ५ अर्ब १४ करोड रुपैयाँ संकलन गर्न सफल भएको कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले जानकारी दिए।
उनका अनुसार केवल आषाढ महिनामै ६६ प्रतिशत राजस्व संकलन भएको छ। यथास्थितिमा राजस्व संकलनको गति जारी रहेमा आर्थिक वर्ष सकिनुअघि नै लक्ष्य पूरा हुने उनले बताए।

राजस्व वृद्धिको कारण र वस्तुहरू
कृष्णनगर भन्सार कार्यालयबाट मुख्यतः कोइला, फलामको कच्चा पदार्थ, चामल, बियर उद्योगका लागि आवश्यक ‘केन’ र बोतल आयात हुने गरेका छन्। पछिल्लो समय केही ट्राफिक प्युल (वाहनको चाप) पनि बढेको कार्यालयले जनाएको छ। गत वर्षको तुलनामा करिब १४ प्रतिशत राजस्व वृद्धि भएको समेत जानकारी गराइएको छ।

लेखकको सम्वन्धमा