तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
बुटवल। सञ्चालकले बचत अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।
वि.सं. २०५० सालमा स्थापना भएको सहकारी संकटमा फसेपछि आफ्नो बचत फिर्ताको माग गर्दै बचकर्ताहरू बुधबार कार्यालयमा जम्मा भएका छन् ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार छन् । सहकारी संकटमा फसेपछि वडा कार्यालयको समन्वयमा प्रहरी बोलाएर कार्यालयमा ताला लगाइएको वडाध्यक्ष कल्याण पौडेलले बताए ।
सहकारीकी बचतकर्ता रुपा पोखरेलले ५ वर्षदेखि बचत गरेको साढे २ लाख फिर्ता नपाएको बताइन् । ‘मासिक १ हजारका दरले बचत गर्दै आएकी थिएँ,’ उनले भनिन्, ‘मेरो एकजना साथीले सहकारी समस्यामा पारेको सुनाएपछि बुझ्न आएर पैसा फिर्ता मागें । निवेदन दिनुस् भन्नुभयो । हामी कहीँ भागेर जान्नम भन्नुभयो । अहिले आउँदा सहकारी सिल भएको रहेछ । हाम्रो पैसा जसरी पनि फिर्ता चाहियो ।’
अर्का बचतकर्ता बुटवल देवीनगरका उमाकान्त लामिछानेले आफ्नो लालपूर्जा राखेर राखेर सहकारीबाट लोन लिएको तर, अहिले पुर्जा नै फसेको बताए ।
‘मैले ३ लाख तिरे मेरो ४० लाख सम्पतिको पुर्जा निकाल्न पाउँथे । अहिले सञ्चालकहरू कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ थाहा छैन,’ उनले भने ।
अर्का बचतकर्ता माधव पन्थले आफ्नो ४ लाख सहकारीमा फसेको बताए । सहकारीमा १ हजार ७०० शेयर सदस्य रहेका बताइएको छ ।
केही समयअघिदेखि बचकर्ताले आफ्नो रकम फिर्ता माग्दा सहकारीले दिन नसकेको अर्की बचतकर्ता गीता चापागाईंले बताइन ।
सहकारीमा समस्या आएपछि कागजात समेत च्यातेको आफ्नो बचत फिर्ता माग्न आएकाहरूले चर्चा गरेका थिए । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले सहकारीमा समस्या आइपरेको सूचना प्रहरीसमक्ष आएको बताए ।
‘अहिले हाम्रो प्रमुख भूमिका हुँदैन । त्यहाँको अवस्थाबारे प्रहरीले मोनिटरिङ गरिरहेको छ,’ उनले भने । रुपन्देहीमा एकपछि अर्को गर्दै सहकारी संकट परेर डुब्दै आएका छन् ।

लेखकको सम्वन्धमा