बुटवल उपमहानगरपालिका लोकसंस्कृति संरक्षणमा अग्रणी
बुटवल ।लोकसंस्कृति संरक्षण र प्रवद्र्धनको दिशामा बुटवल उपमहानगरपालिका देशभरकै नमुना स्थानीय निकायको रूपमा अघि बढेको छ। लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको बुटवल उपमहानगरपालिकाले भाषा, कला, परम्परा, इतिहास र सामाजिक विविधतालाई समेट्दै आफ्ना नीति, योजना र कार्यक्रममार्फत समावेशी तथा सांस्कृतिक दृष्टिले समृद्ध समाज निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको छ।
विविध जातजाति, भाषा र संस्कृतिले भरिएको बुटवलमा मगर, थारु, नेवार, गुरुङ, मुस्लिम, ब्राह्मण, क्षेत्री लगायत समुदायको सांस्कृतिक पहिचानलाई जगेर्ना गर्न उपमहानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। उपमहानगरको प्रयासले न केवल सांस्कृतिक विविधता झल्काउँछ, तर सामाजिक सद्भाव र आत्मपहिचान प्रवद्र्धनमा पनि योगदान पुर्याइरहेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय दाबी गर्छन् ।
मातृभाषामा नागरिक बडापत्र प्रकाशन गर्ने, लोकनृत्य प्रतियोगिता गर्ने तथा देखि बिभिन्न जातजातीलाई आफ्नै संस्कृतिको जर्गेना गर्नको लागि बिभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख पाण्डेयले लोकसंस्कृति संरक्षणमा बुटवलले राम्रो लगानी गर्नेगरेको बताए ।
मातृभाषामा नागरिक बडापत्र प्रकाशन
बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलोपटक विभिन्न मातृभाषाहरूमा नागरिक बडापत्र प्रकाशन गर्ने कार्य आरम्भ गरेको हो। यो पहल नेपालकै सन्दर्भमा एक ऐतिहासिक कदमको रुपमा रहेको उपमहानगरको दाबी छ ।

बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक थारु, मगर, नेवारी लगायत मातृभाषामा नागरिक बडापत्र प्रकाशन गरेर ऐतिहासिक कदम चालेको छ। यसले सेवा प्रवाहमा भाषिक पहुँचलाई सहज बनाउनुका साथै भाषिक पहिचानलाई सशक्त बनाएको नगरप्रमुख पाण्डेयको विश्वास छ । मातृभाषामा जानकारी प्राप्त गर्न पाउनु, राज्यबाट सेवा लिन पाउनु एक ऐतिहासिक अवसर हो भन्ने अनुभूति गराएको उनले जानकारी दिए।
नागरिक बडापत्र नेपाली भाषासँगसँगै थारु, मगर, र नेवारी भाषामा समेत तयार पारिएको छ। यसले प्रशासनिक पहुँचमा रहेका सामुदायिक असमानतालाई अन्त्य गर्दै विविध जातीय र भाषिक समुदायलाई राज्यसत्ता नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। बडापत्रमा नगरवासीले पाउने सेवा, सुविधा, अधिकार, र नगरको दायित्वबारे विस्तृत जानकारी सरल भाषामा उल्लेख गरिएको छ।
नगर गानबाट सांस्कृतिक पहिचानको प्रवद्र्धन
२०७९ पुस १७ मा नगरसभाबाट अनुमोदन गरिएको नगर गानले बुटवलको इतिहास, जीवनशैली, कृषि, उद्यम, व्यापार, शिक्षा, पर्यावरणजस्ता पक्ष उजागर गरेको छ। यसले सहरको आत्मालाई गीत–सङ्गीतमार्फत सार्वजनिक गर्दै सांस्कृतिक गौरवमा थपिएको छ। उपमहानगरका विद्यालयदेखि सभा–समारोहसम्म नगर गान गुञ्जिने गरेको छ । बुटवल उपमहानगरपालिकाले यो बोधलाई मूर्त रूप दिनका लागि ’नगर गान’ निर्माण र अंगीकरण गरेको नगरउपप्रमुख साबित्रादेबी अर्यालले बताईन् ।
उनले भनिन्, ‘नगर गान भनेको नगरको पहिचान हो । यसो भनिरहँदा बुटवलले लोकसंस्कृति संरक्षणलाई प्रवर्धन गर्नेगरि शब्दहरु छनोट भएका छन् । ’
लोकनृत्य प्रतियोगिता र प्रशिक्षण कार्यक्रम
बुटवल उपमहानगरपालिकाले स्थानीय समुदायबीच मौलिक नृत्य संस्कृतिको जगेर्ना गर्न नियमित रूपमा लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ। बालबालिका, युवा तथा वृद्धवृद्धाबीच छुट्टाछुट्टै समूह बनाएर परम्परागत थारु नाच, मगर नाच, नेवारी नाचजस्ता जातीय नृत्यहरूको प्रस्तुति गरिन्छ। प्रतियोगितामार्फत प्रतिभा पहिचान र सम्मान पनि गरिन्छ। साथै, स्थानीय विद्यालय र कला केन्द्रमार्फत लोकनृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरिन्छ, जसमा युवा पुस्तालाई मौलिक नृत्य कला सिकाइन्छ।

बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता प्रत्येक वर्ष हुँदै जाने बुटवलले जनाएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा गत फागुन १ र २ प्रतियोगिता गरेर यसको शुरुवात गरिएको थियो । लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले विद्यार्थीहरुमा हरेक खालको क्षमता विकासका लागि बुटवलले खेलकुद र सांस्कृतिक कार्यक्रम र अन्य शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए।
समाजको सांस्कृतिक सम्पत्तिको रुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको उनले बताए ।
लोकबाजा तालिम र संरक्षण
बुटवल उपमहानगरपालिकाले लोपोन्मुख अवस्थामा पुगेका परम्परागत लोकबाजा निर्माण र प्रयोग प्रवद्र्धन गर्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। मादल, पाङ्ग्रा, ढोलक, सिङ्गा, नरसिंगा, बान्सुरी जस्ता वाद्ययन्त्र बनाउने र बजाउने सीपलाई पुस्तान्तरण गर्ने उद्देश्यले स्थानीय हस्तकलाकार, युवा तथा विद्यार्थीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। तालिमपछि उत्पन्न उत्पादनलाई बजारमा पुर्याउने र सांस्कृतिक कार्यक्रममा प्रयोग गर्न प्रोत्साहित गर्ने नीति पनि अपनाइएको बुटवलका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले जानकारी दिए । श्रमिक महिला बाजा समुहले स्कुलको साधारण सभा, बिभिन्न खाले र्याली, मन्दिरका कार्यक्रमहरुमा गएर बाजा बजाएको बताउदै अब बिबाह व्रतबन्धमा पनि बजाउन बोलाए जान सकिने तालिमका सहभागी बुटवल ११ को श्रमिक महिला नौमति बाजा समुहकी सचिव शारदा श्रेष्ठले बताईन् ।

पञ्चेबाजा बजाउन सिकेपछि महिलामा अहिले आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुनुका साथै थुप्रै परिवर्तन आएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
‘नेपालको परम्परागत सांगीतिक सम्पदामा पञ्चेबाजाले एक महत्वपूर्ण स्थान ओगटेको छ, परम्परागत रूपमा पुरुषहरूले मात्र बजाउदै आएको पञ्चेबाजामा पछिल्लो समय महिलाहरूको सक्रिय सहभागिता देखिन थालेको छ । यो सबैभन्दा ठुलो उपलब्धी हो ।’– प्रमुख पाण्डेयले भने,‘ पञ्चेबाजा सिकेपछि महिलाहरूमा धेरै प्रकारका सकारात्मक परिवर्तनहरू देखिएका छन्, जसले सामाजिक, आर्थिक र व्यक्तिगत स्तरमा सकारात्मक असर पारेको छ ।’
बुटवलमा मगर, थारु, गुरुङ, नेवार लगायतका समुदायहरूको परम्परागत हस्तकला, जस्तै ढाका बुनाई, बाँसका सामग्री निर्माण, माटोका भाँडाकुँडा, चित्रकला, गहना निर्माण आदि प्रवद्र्धन गर्न उपमहानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको सामाजिक परिचालन, अन्तर सहकारी तथा संघसस्था समन्वय शाखा अधिकृत सहनशिला कक्षपति श्रेष्ठले जानकारी दिईन् ।
ऐतिहासिक सम्पदाको संरक्षण
बुटवलको ऐतिहासिक स्मारक जितगढी किल्लाको संरक्षणमा उपमहानगरले विशेष ध्यान दिएको छ। किल्लाको पुनःनिर्माण, जानकारीमूलक पट्टिका स्थापनाजस्ता कार्यहरू सम्पन्न भइसकेका छन् ।

साथै मणिमुकुन्द सेन उद्यानलाई आकर्षक र पर्यटकमैत्री बनाउने योजनासमेत अगाडि बढाइएको छ । नगरप्रमुख पाण्डेयले आफुहरु निर्वाचित भएर आएसंगै लोकसंस्कृति संरक्षणमा महत्वपूर्ण कामहरु गरिरहेको दाबी गर्छन् ।

लेखकको सम्वन्धमा