गर्भमै हुने लैङ्गिक विभेदपूर्ण व्यवहारको अन्त्य गर्न आवश्यक
बुटवल । गर्भमा नै हुने लैङ्गिक भेदभावको सधैँका लागि अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयको आयोजनामा बुटवलमा भएको ‘विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि प्रादेशिक कार्यशाला’ गोष्ठीमा बोल्दै सहभागीले भ्रूण पहिचान गरी गर्भमा नै गरिने हत्याको सधैँका लागि अन्त्य हुनुपर्ने बताएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा.विकास देवकोटाले विभेद गर्भदेखि वा गर्भ पश्चात् हुने कुनै पनि विभेद स्वीकार्य नभएको बताए ।
महिला भएमा गर्भमा नै तुहाएर हत्या गर्ने, जन्मिएको बच्चा समेत छोरा वा छोरी लिङ्गको आधारमा विभेद गर्ने परिपाटी २१ औँ शताब्दीमा समेत कायम रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए । 
कृपा तथा यु.एन.एफ.पी.ए संस्थाको प्राविधिक सहयोग भएको कार्यशाला गोष्ठीमा सङ्घीय मन्त्रालयको सह सचिव इन्द्र मणि पोखरेल, कृपाका निर्देशक आनन्द तामाङ लगायतले बोलेका थिए । कार्यक्रममा प्रदेशमा हुने लैङ्गिक विभेदको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
समाजमा लिङ्गप्रति गरिने विभेदपूर्ण व्यवहारका कारण गर्भमै भ्रूणको पहिचान गरी गर्भपतन गराउनुपर्ने बाध्यता रहेको भन्दै असामाजिक र विभेदपूर्ण सोचका कारण हाम्रो राष्ट्रिय लक्ष्य लैङ्गिक समानतामूलक राष्ट्र निर्माण र दिगो विकासको लक्ष्य भेट्न गाह्रो हुने र समाज कुरीति र हानिकारक अभ्यासमा रुमलिने भएकोले विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति को विषयमा समेत छलफल भएको गैर सरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले जानकारी दिइन।

लेखकको सम्वन्धमा