मोतिबिन्दुले दृष्टिबिहिन बन्न नदिने सिद्धार्थनगरको रणनीति

बुटवल । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीया अनवरी जोलाहाले मोतिबिन्दु भए पछि दृष्टि गुमाईन । उमेर बढ्दै जादा दृष्टि कमजोर भएको कारण देख्न कम गरेको भन्ने आफुले पनि महसुस गरिन। बुढेसकालमा दृष्टि कमजोर हुँदै जान्छ भन्ने धेरैले भनेको सुनेकी उनले न्यून दृष्टि स्विकारिन्।
छोराले अटो चलाउनु बाहेक अन्य आयस्रोत छैन उनको परिवारको । ५ जनाको परिवार चल्नुपर्ने भएपछि आफुले कम देख्ने भएपनि स्विकारिन र घरमै बसिन।
यस्तैमा सिद्धार्थनगर नगरपालिकाले मोतियाबिन्दुको अप्रेसन र उपचार निशुल्क गर्ने भन्ने थाहा पाए पछी छोराको रिक्सामा बसेर रण अम्बिका आँखा अस्पताल भैरहवा पुगिन।
त्यहाँ अपरेसन गर्नुअघी गर्नुपर्ने चेकजाँच, अप्रेसन पछि दिने औषधि र चस्मा समेत निशुल्क प्राप्त गरिन। ९९ प्रतिशत दृष्टि गुमाएकी उनले अहिले आफ्नो दैनिक जिवनयापन सहजै गर्न सक्ने भएकी छन।
नगरपालिकाले थालेको अभियानले आफू जस्ता आर्थिक अवस्था कमजोर भएकालाई निकै सहयोग पुगेको उनको भनाई छ। उनी भन्छिन,’नगरपालिकाले थालेको यो अभियानले निकै फाईदा पुर्याएको छ। हामी अब देख्नै पाईदैन कि भन्ने डरमा बसेकालाई फाईदा भएको छ। पैसा नहुनेले धेरै लाभ लिन सक्छन।’ उनी मात्रै होइन नगरपालिकाका विभिन्न स्थानका ब्यक्तिहरुले सेवा लिइसकेका छन।
भारत सँग सिमाना जोडिएको रुपन्देहीको सदरमुकाम भैरहवा अर्थात सिद्धार्थनगर नगरपालिकालाई मोतिबिन्दुबाट गुम्ने दृष्टिलाई गुम्न नदिन रणनीति अगाडि बढाएको छ।
गर्मी स्थान र प्रदूषित वातावरणका कारणले आँखामा समस्या आइरहेको अवस्थामा आँखा स्वस्थ राख्नको लागि र दृष्टिबिहिन बन्नुपर्ने बाध्यता अन्त्यको लागि यो अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख ईस्तिहाक अहमद खानले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै आँखा महत्त्वपूर्ण अङ्ग भएकोले आँखा बिग्रन नदिने र बिग्रेमा उपचारको लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको बताए।
उनले भैरहवामा रहेको रण अम्बिका आँखा अस्पताल सँगको सहकार्यमा निःशुल्क मोतिबिन्दुको अपरेसन एवं उपचार गरिएको बताए। उनले भने,’ सिद्धार्थनगर नगरपालिका क्षेत्रमा वातावरणीय प्रदूषण पनि छ, गर्मी पनि उस्तै छ। त्यसैले आँखामा समस्या देखिन्छन् । त्यसैले हामीले रण अम्बिका आँखा अस्पतालसँगको सहकार्यमा मोतिबिन्दुको अपरेसन एवं उपचार निःशुल्क गर्दै आएका हौ।’
उनले नगर क्षेत्र भित्र मोतिबिन्दुबाट हुने दृष्टिविहीनता अन्त्य गर्नको लागि २०८० चैत्र १४ गतेबाट अस्पताल सँग सम्झौता गरेर अपरेसन एवं उपचारमा छुट सेवा शुभारम्भ गरिएको जानकारी दिए।
सिद्धार्थनगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले यो वर्ष १० लाख बजेट छुट्टाएर काम भइरहेको बताइन। उनले यसको प्रभावकारिता बढ्दै जाँदा प्रत्येक वर्ष बजेट विनियोजन गरिने बताइन।
उनले पछिल्लो समय अभिभावकहरू व्यस्त हुने र बालबालिका भुलाउनको लागि टिभी तथा मोबाइल दिने गर्दा बालबालिकाहरूको आँखामा प्रत्यक्ष दीर्घकालीन असर पर्ने भएकोले अहिलेदेखि नै आँखा जोगाउन आँखा स्वास्थ्यलाई नगरपालिकाले विशेष महत्त्व दिएको बताइन।
उनले भनिन,’हामीहरू बिरामी भएपछि मात्रै अस्पताल पुग्छौ। यसले अवस्था जटिलता सम्म धकेल्छ। त्यसैले आँखा नियमित जचाउदा सम्भावित समस्या समाधान हुन्छ। ’
एक महिनामा १७ जनाले लिए सेवा
रण अम्बिका आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले नगरपालिका सँगको सहकार्यमा यो अभियान सञ्चालन भइरहेको बताए । उनले यो अभियानको सूचना अझै समुदायमाझ राम्रोसँग नफैलिए पनि शुभारम्भको १ महिनामा भित्र १७ जनाले यो सेवा पाएको जानकारी दिए। उनले ८ जना पुरुष र ९ जना महिलाले सेवा लिएको जानकारी गराए।
उनले यो अभियानमा अस्पतालको तर्फबाट न्यूनतम ५८ सय प्याकेजमा औषधि सहित चस्माको प्रबन्ध हुने जानकारी दिए।
अस्पतालबाट दैनिक २ सय हाराहारीमा मोतियाबिन्दुको अपरेसन हुने गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए।
यसरी पाईन्छ सेवा
नगरपालिकाले ब्यवस्थापन गरेको यो सेवा लिन सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस पत्र बनाई अस्पताल जानुपर्ने र चिकित्सकलाई देखाएको कार्ड र चिकित्सकको प्रिस्किप्सनले लिएर गएपछि अस्पतालबाट सेवा निशुल्क पाईन्छ ।
निशुल्क सेवा अस्पतालले दिने नभई उपचार गर्दा लाग्ने खर्च नगरपालिकाले दिनेगरी ब्यवस्थापन गरिएको छ। जटिल प्रकृति बाहेक सामान्यतया प्रतिबक्ती ५ हजार ८ सय खर्च लाग्ने गर्दछ। नगरपालिकाले चालू आर्थिक वर्षमा १७० जना बढिको अपरेसनको लागि बजेट ब्यवस्थापन गरेको अस्पतालले जनाएको छ।
अस्पतालमा भारत र नेपालका आधा–आधा विरामी
अस्पतालमा लुम्बिनी प्रदेशका जिल्लाहरु , चितवन , पोखरा लगायत काठमाडौ बाहेकका सबै स्थानबाट आँखाको उपचारको लागि आउने गरेका छन।
केही समय पहिले सम्म ७५ प्रतिशत सम्म बिरामीहरु भारतबाट आउने गरेका थिए भने पछिल्लो समय नेपाली बिरामीहरुको संख्या बढेपछि ५०÷५० प्रतिशत अनुपातमा रहेको बताए। २२ चिकित्सकबाट सेवा प्रदान गर्दै आईरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिए।
के हो मोतिबिन्दु?
मानिसको जन्मसँगै प्रकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ। यसरी आँखाको भित्री भागमा हुने पारदर्शीता लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा मोतिबिन्दुको समस्या हुन्छ।
जस्तैः क्यामराको लेन्स भनेजस्तै हाम्रो आँखामा पनि प्रकृतिक एउटा लेन्स हुन्छ। त्यो लेन्स पारदर्शी हुन्छ। पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ। त्यसको काम बहिरबाट आएको प्रकाश छिर्न दिनु हो।
लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतिबिन्दु भनिन्छ। तर, कहिलेकाहीँ दुर्घटना वा विकीरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रियाका कारण पनि यो समस्या देखापर्ने गर्दछ।
जुनसुकै उमेरका मानिसमा मोतिबिन्दुको समस्या देखिन सक्छ। तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना बढी भएको पाइन्छ।तर, वंशाणुगत रुपमा पनि यो रोगले सताउने कारण जन्मजात मोतिबिन्दुको समस्या देखिन सक्छ।
आँखामा जथाभावी औषधी प्रयोग गर्दा पनि मोतिबिन्दु हुन सक्छ। धूमपान र मदिरापान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतिबिन्दु हुने खतरा रहन्छ।यो रोग लागेको बेलामा प्रोटिनका स–साना टुक्रा वा पहेंला, खैरा रङ्गका कणहरूले लेन्समा जम्मा भएर आँखामा छिरेको प्रकाशलाई पछाडिको भागमा रहेको रेटिनासम्म पूर्ण रूपमा प्रसारण हुन दिँदैन।
मोतिबिन्दु लाग्नुको कारणहरु?
मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगका कारण
९९ प्रतिशत कारण बढ्दो उमेर
आँखामा देखा पर्ने रोग जस्तैः जलबिन्दु
पोषण तत्वको कमी
चिनी रोग
जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया
वंशाणुगत कारण
बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सनको कारण
चोटपटक लागेर
घामको विकीरणले गर्दा
आँखाको पानीको खराबी
धूमपानका कारण।
मोतिबिन्दुका लक्षणहरू
दृष्टि धमिलो भएर जाने
उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
आँखाको नानीभित्र सेतो देखिने
अँध्यारोमा झन् कम देख्ने
चश्माको पावरमा परिवर्तन आइरहने
रंगहरू फरक देखिन थाल्ने
राति आँखा नदेख्ने
सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।
मोतिबिन्दुको रोकथाम तथा उपचारकसरी गर्ने?
बाहिर हिँड्दा अथवा घाममा हिँड्दा घामबाट बच्न चश्मा (सनग्लासेस) लगाउने
धूमपानबाट अथवा निकोटिन वा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
आँखाको नियमित अथवा समय समयमा परीक्षण गर्ने
मोबाइल कम्प्युटरको सीमित मात्रामा मात्र प्रयोग गर्ने
डाक्टरको सल्लाहबिना औषधी प्रयोग नगर्ने।
उपचार
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ।
शल्यक्रिया भनेको पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो। आँखामा रहेको लेन्सलाई ढाक्ने र झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ। यो सानो तर सुरक्षित शल्यक्रिया हो। मोतिबिन्दुको कारण आँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रूपमा ठिक हुन सक्छ।
लेखकको सम्वन्धमा