बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु
बुटवल । निर्वाचन अधिकृतको कार्यालय बुटवलले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई मौन अवधिमा मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी दिएको छ।
बुटवलमा एमालेका तर्फबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती माया भट्टराई मौन अवधिमा बुटवल ११ मजुवा टोलमा सुकुम्बासी बस्तीमा पैसा बाँड्न गएको आरोप लागेको थियो।
उम्मेदवार भट्टराई र उनकी श्रीमतीलाई अबदेखि मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी दिएको निर्वाचन अधिकृतको कार्यालय बुटवलका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।
उनीहरुलाई मौन अवधिमा मतदाता प्रभावित गर्ने कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।
उनलाई स्थानीयको घरभित्र लुकेर बसेको अवस्थामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो।
स्थानीयसँग छलफल गर्दै गरेको र भोट माग्दै गरेको अवस्थामा कांग्रेस कार्यकर्ताले देखेपछि उनी भागेर एक घरभित्र लुकेकी थिइन् । उनले घरधनीलाई बाहिरबाट चाबी लगाउन पठाएर लुकेको स्थानीयले बताएका थिए।
यही घटनालाई लिएर कांग्रेस प्रचारप्रसार समिति बुटवलले निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण गराएको थियो।
कांग्रेसले बुधबार एमालेका उम्मेदवारबाट मौन अवधिमा मतदाता प्रभावित गर्ने काम गरेको भन्दै कारबाही गर्न माग गरेको थियो ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्कीले विज्ञप्ति निकालेर मौन अवधिमा मतदाता प्रभावित गर्ने कामप्रति आपत्ति जनाउँदै कार्बाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।
“हामी स्थानीय निर्वाचनको संघारमा छौं । मौन अवधि शुरु भइसकेकाले उम्मेदवारहरुका प्रचारप्रसारका सबै काम रोकिएका छन् । यसको पालना गर्नु हाम्रो कर्तव्य र दायित्व हो । यस अवधिमा एमालेबाट मतदातालाई प्रभावित गर्न पैसा बाँड्ने, प्रलोभनमा पार्नेजस्ता कार्यहरु भएको भन्ने सूचना र समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”-विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा बुटवल ११ मजुवा टोलमा बुटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले साथीभाइ र आफन्त भेट्ने बहानामा सो बस्तीका मतदाताहरु भेट्ने, अनेक आश्वासन दिने, भोट माग्ने कार्य गरिरहेको र पैसामा मत किन्ने जस्ता प्रयास गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
“मौन अवधिमा उम्मेदवारकै श्रीमती मतदाताको घरमा जाने र अरु स्थानीयले थाहा पाएपछि एक महिलाको घरभित्र बसेर बाहिरबाट चाबी लगाउन पठाउने गरेको र त्यस अवस्थामा प्रहरीले घरधनीको रोहवरमा घरको ताला फोडेर महिला प्रहरीको सहयोगमा भित्र हेर्दा उम्मेदवारकी श्रीमती ढोका पछाडि लुकेर बसिरहेको अवस्थामा फेला पर्नुले घटनालाई गम्भीर बनाएको छ”-कार्कीले विज्ञप्तिमा भनेका छन्।
उनले निर्वाचन आचारसंहिताविपरीत मतदाताको घरघरमा जाने, थाहा पाउने डरले बाहिरबाट चाबी लगाउन लगाएर लुक्ने र आफन्त भेट्न गएको भन्ने द्विअर्थी कुराले गलत उदेश्य प्रष्ट पारेको बताएका छन्।
“एमालेका प्रमुख पदका उम्मेदवारकै परिवारका सदस्यबाट निर्वाचन आचारसंहिताको पालना नहुनु र मतदाता प्रभावित गर्न खोज्नु अत्यन्त अलोकतान्त्रिक र अमर्यादित कार्य हो भन्ने हामीलाई लागेको छ”-विज्ञप्तिमा भनिएको छ- “यस्तो घटनाले बुटवलमा स्वच्छ तथा निष्पक्ष निर्वाचन हुनेमा शंका उत्पन्न गरेकोले हामी यस्ता गलत कार्यमा संलग्नलाई कारबाही गर्न माग गर्दै गम्भीर ध्यानाकर्षण गराउँदछौं । तसर्थ, कुनै भय, डर त्रास, लोभलालचमा नपरी स्वतःस्फुर्त मतदानमा सहभागी हुनका लागि हामी आह्वान गर्दछौं ।”


लेखकको सम्वन्धमा