२०८० को बुद्धजयन्ती बैशाख २२ गते मनाईदै,प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०८० को बुद्धजयन्ती बैशाख २२ गते मनाईदै,प्रधानमन्त्रीले उद्घाटन गर्ने
0 0
Read Time:7 Minute, 21 Second

बुटवल । २५६७ औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । वैशाख २२ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा विशेष २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने लुम्बिनी विकास कोषले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले विशेष समारोह अघि शुक्रबार बिहान ६ बजेदेखि ७ सम्म धार्मिक पूजा हुने जानकारी दिए । उनले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए ।

‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरुकोसमेत सहभागीता रहनेछ, ’भट्टराईले भने । प्रधानमन्त्रीको सम्बोधन पश्चात साँस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन गर्ने उनले बताए । त्यस्तै बुद्धजयन्तीको अघिल्लो दिन वैशाख २१ गते बिहीबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण हुने उनले जानकारी दिए ।

बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर भित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न बजाउन नपाउने नियम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले यसले परिसरभित्र हर्न निषेधित गरी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको बताए । ‘२५६७ औं बुद्ध जयन्तीलाई वृहत्तर लुम्बिनी क्षेत्रमा पनि विशिष्ट रुपम मनाउने प्रत्यन यो वर्षबाट गरिएको छ ।

बुद्धको अस्तधातु रहेको रामग्राममा यसवर्ष वैशाख २२ गतेका दिन पण्डितपुरदेखि रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरी मनाइने भएको छ, यहाँ हुने समारोहमा पर्यटन, संस्कृति तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपालीको प्रमुख आतिथ्यता रहनेछ, ’शाक्यले भने ।
त्यस्तै रामग्राम र देवदह नगरपालिका र लुम्बिनी विकास कोषका संयुक्त आयोजनामा २२ गते देवदहको भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरुको अगुवाइमा हुने शाक्यले जानकारी दिए ।

यस वर्षदेखि भगवान बुद्धको महत्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजउन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गर्दछौैं, ’उनले भने ।

बुद्धजयन्तीको भोलिपल्ट वर्षेनी हुँदै आएको मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा मायादेवी शोभायात्रा वैशाख २३ गते हुने कोषले जनाएको छ । कोषकाअनुसार कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालको प्रमुख आतिथ्यता रहने र यो यात्राको रुट लुम्बिनीबाट कपिलवस्तु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । वैशाख २३ गते बुद्ध जयन्ती विशेष समारोह तिलौराकोटमा आयोजना हुने कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषले २५६७ औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्टाएको छ । दिवसको अवसरमा ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाई अभियान सुरुवात गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए । लुम्बिनी विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रसमेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँको स्थानीय र होटल व्यवसायीसमेतको हो भन्ने भावना जागृत गराउन अभियानको सुरुवात गरिएको उनले बताए । वैशाख ९ गतेबाट यो अभियान सुरु भएको र जारी रहने उनले बताए ।

लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्ष भन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको बताए ।कोरोना महामारीका कारण बुद्ध जयन्तीमा केही वर्ष औपचारिक कार्यक्रमहरु हुन सकेको थिएन । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको थियो ।

भगवान शाक्यमुनी बुद्ध ई.पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, बोधिज्ञान प्राप्ती र महापरिनिर्वारणको नियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %