कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने
बुटवल । नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाव जितेमा घरबहाल कर, ई–रिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ ।
कांग्रेसबाट प्रमुख पदका उमेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी कर थोपरिरहेको अवस्थामा नगरको आन्तरिक श्रोतको दायरा बढाएर जनतालाई राहत प्रदान गर्ने बताए ।
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई–रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने उनले बताए ।
उनले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिकरूपमा जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरूको एक महिनाको तलब नगरबासीहरूको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने बताए ।

लेखकको सम्वन्धमा