निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौंः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
शुक्रबार नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत् निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको जनाए ।
उनले प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत बताए । ‘तपाईँहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ,’ भने, ‘प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’
रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत् प्रक्रिया अघि बढेको तर प्रशासन सेवातर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उनको छ । ‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ । कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ,’ उनले भने, ‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ । तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।’
प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबूत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको उनले बताए । ‘हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्तिविकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो,’ उनले भने, ‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ । ती नमिलेका कुराहरू मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरू ढोका नै बन्द गरेर लाग्यौँ ।’
संगठनका प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्य र महासचिव भिमलाल खनालले निजामती सेवालाई प्रभावकारी, चरोसायोग्य बनाउनुपर्नेमा जोड दिए । यस्तै, उनीहरुले प्रदेश सरकारले निजामती क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

लेखकको सम्वन्धमा