बौद्ध शिक्षामा राज्य संयन्त्रले लगानी गर्नुपर्छ : विष्णु पौडेल
बुटवल ।नेकपा एमाले उपाध्यक्ष एव पूर्व अर्थमन्त्री विष्णु पौडेलले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुपर्ने बताएका छन्। रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले गौतम बुद्धसँग सम्बन्धित बौद्ध शिक्षामा सरकारले लगानी गर्नुको विकल्प नभएको बताएका हुन।
लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गतका पहिलो विस्तारित कलेज लुम्बिनी सिटी क्याम्पस बुटवल–१२ नयाँगाउँमा शुभारम्भ गर्दै पौडेलले लुम्बिनी विश्व विद्यालयलाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्मा सरकारले लिएर सबै प्रक्रिया अगाडी बढाउनको लागि आग्रह समेत गरे ।
पौडेलले बुटवललाई शैक्षिक नगरीको रूपमा शिक्षाको हबको रूपमा विकास गरिने बताउँदै लुम्बिनी बौद्ध विश्व विद्यालय चाहिन्छ भन्ने अभियानमा आफूले लामो समय देखि नै पहल गर्दै आएको बताउँदै काठमाण्डौमा रहेको लुम्बिनी विश्व विद्यालयले लुम्बिनीमा केन्द्रीय कार्यालय स्थापना गरेर छोटो समयमा राम्रो प्रगति गरेको बताए ।
विकासका दृष्टिकोणले रुपन्देहीलाई देशकै नमुना जिल्लाको रूपमा विकास गर्न सफल भएको बताउँदै उनले शिक्षा क्षेत्रमा पनि रुपन्देही देशमा नै अग्रणी जिल्लाको रूपमा आएको बताए । जनताको साथ, समर्थनबाट रुपन्देही एउटा नमुना जिल्लाको रूपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताए ।

लुम्बिनी विश्व विद्यालय सँगको सहकार्यलाई विटीआईलाई ईन्जीनियरिङ्ग कलेजको रूपमा विकास गर्ने गरी काम अगाडी बढाउनको लागि आफूले सक्दो सहयोग गर्ने बताए । बुटवल उपमहानगरपालिकाले समेत यो विषयमा चासो देखाएको भन्दै उनले सबैको साथ र सहयोगले त्यो कामले सार्थक पाउने बताए ।
विटीआईलाई एउटा आङ्गिक ईन्जीनियरिङ्ग कलेजको रूपमा विकास गर्ने गरी काम अगाडी बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले बौद्ध शिक्षा, दर्शनको महत्त्व पछिल्लो समयमा बढ्दै गएको भन्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका आङ्गिक क्याम्पसहरू देशैभर नै विस्तार हुनुपर्ने बताएका थिए ।उनले प्रदेश सरकारले यसको लागि सहयोग गर्न तयार रहेको बताए ।
पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी कलेज स्थापनको लागि आफू मन्त्री हुँदा ठुलो पहलबाट नै अहिलेको सम्भव भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी बौद्ध विश्व विद्यालयको योजना अव सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी काम अगाडी बढाउने बताएका थिए । उनले अहिले विश्व विद्यालयमा बौद्ध, दर्शन, शिक्षा सहित पर्यटन, व्यवस्थापन र कानुन विषयमा समेत अध्यापन भइरहेको जानकारी दिँदै स्थापनाको लामो समय पछि लुम्बिनीमा नै केन्द्रीय कार्यालय स्थापना गरी काम गर्न सफल भएको बताए । उनले केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरेपश्चात् विद्यार्थीहरूको चाँप क्याम्पसमा बढ्दै गएको समेत बताएका थिए ।
सिटी क्याम्पसका लागि ५ करोड २० लाख ५० हजार लागतमा २ तले शैक्षिक भवन निर्माण गरिएको हो ।

लेखकको सम्वन्धमा