व्यवस्थित घडेरी र आवासका लागि रूपन्देही रोजाइमा
भैरहवा । विश्व आस्थाको केन्द्र गौतमबुद्ध जन्मस्थल लुम्बिनी अनेक सम्भावना र विशेषताले भरिपूर्ण छ । थरिथरि जातजातिका साथै अनुपम संस्कृति र विविधतायुक्त प्रकृति रुपन्देहीका विशेषता हुन् । कृषि, उद्यम, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारले रुपन्देहीलाई समृद्धि तुल्याएका छन् । स्थल र हवाई नाकाले प्रदेशलाई पर्यटन आगमनको केन्द्र बनाएका छन् ।
११ लाख १८ हजार ९ सय ७५ जनसंख्या रहेको रुपन्देही कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारको केन्द्र हो । त्यसैले पछिल्लो समय व्यवस्थित घडेरी र आवासका लागि पनि रुपन्देही रोजाइमा पर्न थालेको छ । ‘मुलुकभरबाट बसोबासका लागि रुपन्देही आउनेक्रम छ,’ रुपन्देही घर जग्गा व्यवसायी संघका अध्यक्ष सुरज उप्रेतीले भने, ‘पछिल्लोपटक उद्योग धन्दा सञ्चालनका लागि जिल्ला केन्द्र बनिसक्यो ।’
रुपन्देहीको उत्तरी क्षेत्रमा रहेका पहाडी जिल्लामा कृषि र पर्यटनको प्रशस्त सम्भावना छन् । लुम्बिनी बौद्धमार्गीको सबैभन्दा ठूलो आस्थाको केन्द्र हो । बाँके र बर्दिया निकुञ्ज सफारी पर्यटन गन्तव्य हुन् । बर्दियाको ठाकुरबाबा, बाँकेको बागेश्वरी, प्यूठानको स्वर्गद्वारी, पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थलमा रहेको ऋषिकेष (रिडी), पाल्पाको सिद्धबाबा, रुपन्देहीको मोक्षधाम, नवलपरासीको त्रिवेणी र वाल्मिकी आश्रममा बाह्रै महिना धार्मिक पर्यटन ओइरिने गरेका छन् ।
‘हामीले रुपन्देहीमा आउने पाहुनाको सत्कारमा विशेष ध्यान दिन जरुरी छ,’ रियलस्टेट व्यावसायी सानु शर्माले भने, ‘हामीले देखाउने आत्मियताले नै यहाँ बसोबासका लागि सर्वसाधरणलाई आकर्षित गर्न सकिन्छ ।’ उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, अन्तर्राष्ट्रियस्तरका क्रिकेट मैदान, ध्यान तथा सम्मेलनकेन्द्र, धार्मिक आश्रमकासाथै हस्पिटालीटी क्षेत्रको बिकासले मुलुकको समृद्धिको जग बलियो बनाएका छन् ।
परम्परादेखि विश्रामस्थलका रुपमा रहेको रुपन्देही अहिले हस्पिटालिटी ‘हब’मा परिणत भइसकेको छ । रुपन्देहीका होटलमा प्रत्येक वर्ष एक हजार हाराहारी बैदेशिक विबाह हुने गरेका छन् । बुटवल र भैरहवामा नुनतेल र गल्लाको संकलनबाट सुरु भएको उद्योग, व्यापारसँगै बहुराष्ट्रिय कम्पनीका उद्योग सञ्चालनसम्म पुगिसकेको छ । जसले रुपन्देहीलाई आर्थिक राजधानी बनाएका छन् ।
पहिले अलग–अलग बजारजस्ता बुटवल, तिलोत्तमा, भैरहवा र लुम्बिनी क्षेत्र जोडिएर अहिले एउटै सहर बनिसक्यो । यी क्षेत्र सुविधा सम्पन्न सहरसँगै बसोबासका केन्द्र पनि हुन् । शिक्षा, स्वास्थ्य, रोजगार र उपचारको सहजताका लागि लुम्बिनी प्रदेश लगायत पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेका कारण रुपन्देहीको जनघनत्वमात्र बढेको छैन, यसले थुप्रै अवसर पनि सिर्जना गरेको छ ।
रुपन्देही घर जग्गा व्यवसायी संघका महासचिव धीरजकुमार घिमिरेका अनुसार बुद्ध धर्मावलम्बीले एकपटक बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नैपर्ने मान्यताका कारण विश्वभरका बौंद्ध आश्थावानहरु लुम्बिनी आइरहेका छन् । यस्ता श्रद्धालुको संख्या दिन प्रतिदिन बढिरहेकाले रुपन्देही शान्ति सहर बनिसकेको छ । रुपन्देहीका विभिन्न ठाउँमा रहेका औद्योगिक क्षेत्र, उद्योग करिडोर, उत्पादनशील कारखाना, बिद्यालय, कलेज, अस्पतालका कारण जिल्ला बसोबासका लागि पनि सबैको रोजाइ बनिरहेको छ ।
‘भैरहवाको बेलहिया नाका भएर वर्षमा १० लाखभन्दा बढी पर्यटक भित्रिरहेका छन्’, घिमिरेले भने, ‘बेलहिया हुँदै भित्रिने पर्यटक र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर रुपन्देहीमा अहिले बजेटदेखि तारे होटल, क्यासिनो, रेष्टुरेन्ट, विश्वस्तरीय फनपार्क सञ्चालन भइरहेका छन् । रुपन्देहीको हस्पिपालिटी क्षेत्रमा मात्रै ८० अर्बभन्दा बढी लगानी भइसकेको अनुमान छ ।’
लुम्बिनी दर्शनकासाथै यहाँबाट मुक्तिनाथ ओहोरदोहोर गर्ने धार्मिक र चितवन, काठमाडौं, पोखरा घुमफिर गर्ने पाहुनालाई स्वागत र बिदाइ गर्ने सर्भिस सिटीका रुपमा रहेको छ । शान्तिको खोजी गर्दै लुम्बिनी आउनेदेखि सुविधाको खोजी गर्नेहरुका लागि रुपन्देही प्रमुख गन्तव्य हो । बढ्दो बसाइँ सराइँ र लगानीका कारण रुपन्देहीमा घर, घडेरी जोड्नेदेखि सुविधायुक्त आवास बनाउने धेरै छन् । त्यसैले रुपन्देही घर–घडेरी व्यापारको पनि केन्द्र हो ।
मुलुकमैं धेरै बसाइँ सराइँ हुने पालिकामा रुपन्देहीका सिद्धार्थनगर, तिलोत्तमा र मायादेवी गाउँपालिका पर्छन् । त्यसैले बसाइँ सरेर आउनेका कारण रुपन्देहीमा घरजग्गा व्यवसाय पनि प्रमुख बनेको छ । जिल्लाका विभिन्न स्थानमा उत्कृष्ट पलानिङ गरेर आकर्षक घडेरी विक्री गर्ने गरिएको छ । आकर्षक रोजगार र बिदेशमा रहेका नेपालीलाई लक्षित गरेर रुपन्देहीमा हाउजिङ कारोबार पनि फस्टाइरहेको छ ।
सम्भावना नै सम्भावनाको प्रदेश लुम्बिनीमा अझै पनि लगानीका लागि प्रशस्त क्षेत्र रहेका छन् । रुपन्देहीको दक्षिणमा डेढ अर्व धेरै जनसंख्या रहेको भारत छ । रुपन्देहीबाट ८–९ घण्टाको सडकयात्रा पछि चीनको कोरला नाकासम्म पुगिन्छ । रुपन्देही र आसपासका नवलपरासी र कपिलवस्तुमा ठूला उद्योग, कारखाना र बहुराष्ट्रिय कम्पनी स्थापना गर्न सकिन्छ । मनोरम पहाडी जिल्लामा पर्यटकीय बिकासका सम्भावना रहेका छन । त्यसैले सरकार र निजी क्षेत्रको हातेमालोबाट प्रशस्त सम्भावनाको सदुपयोग गर्न सकियो भने रुपन्देही मात्र नभएर समग्र लुम्बिनी प्रदेशलाई नै समृद्ध बनाउन सकिने प्रचूर सम्भावना छ ।

लेखकको सम्वन्धमा