चुनाव विद्यार्थीको दौडधूप नेताको
नेपालगन्ज । नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। निर्वाचन भइरहेको तीन वटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो। विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो। तर पार्टीका नेताको पनि बाक्लो उपस्थिति देखियो।
विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु त स्वभाविक देखिन्थ्यो, तीनै ठाउँमा पार्टीका नेताहरुले हात जोडेको पाइयो। मतदाता विद्यार्थीलाई ठूला पार्टीका जिल्लाका प्रमुख नेताहरुले हात जोडेर भोट मागिरहेका थिए।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा नेपाली कांग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीका जिल्ला नेतृत्व पुगेका छन्। आफूनिकट विद्यार्थी संगठनलाई जिताउन पार्टीका नेताहरु बिहानैदेखि क्याम्पस आसपासमा मेहनत गरिरहेका छन्।
क्याम्पस आसपासमा ठाउँठाउँमा झुण्ड–झुण्ड छ। कतै त्रिपाल र कुर्सीको व्यवस्था गरिएको छ त कतै खाना, नास्ता र पानीको व्यवस्था गरेका छन्। विद्यार्थीलाई नेतादेखि विद्यार्थी नेताको तानातान छ।
‘खाना खानु भयो? नास्ता खानु भयो? पानी त खानुस्’ मतदाता विद्यार्थीलाई यस्तो सम्मान मिलिरहेको छ। पार्टीका नेताहरु आफूले चिनेको ठाउँका विद्यार्थीलाई फकाउन लागिरहेका छन् भने विद्यार्थी नेतालाई निर्देशनहरु दिइरहेका छन्।
चुनाव विद्यार्थीको भए पनि नेताहरुको रमाइलो हेर्नलायक छ। नेपाली कांग्रेसका सभापति नारायण गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, माओवादीका अध्यक्ष नरेन्द्र पाण्डेसँगै अन्य नेताहरु क्याम्पस आसपासमा डेरा जमाएर बसेका छन्। साना पार्टीका नेताहरु पनि सकेसम्म मेहनत गरिरहेका छन्।
स्ववियु चुनावलाई पार्टीले आफ्नो इज्जतसँग जोडेर हेरिरहेका छन्। विद्यार्थीमा आफ्नो पकड आँकलन गरिरहेका छन्। महेन्द्र बहुमुखी क्याम्पसमा ४ हजार ६ सय ६० जना मतदाता छन्। बिहान ८ बजेदेखि मतदान भइरहेको छ।
अनेरास्ववियुले केशरजंग शाह, नेविसंघले सन्तोष रावल, क्रान्तिकारीले हरेन्द्रबहादुर विकलाई सभापतिमा अगाडि सारेका छन्। साना तीन पार्टी मिलेर बनेको समावेशी प्यानलले निशान थारुलाई अगाडि सारेको छ।
नेपालगन्जको नर्सिङ क्याम्पस, खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा पनि नेताहरु खटिएका छन्। नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्रतिस्पर्धा रहेको छ। ज्ञानोदयमा नेविसंघ र अनेरास्ववियुको प्यानल छ। त्यहाँ क्रान्तिकारीसँग प्रतिस्पर्धा रहेको छ।

लेखकको सम्वन्धमा