प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित
तिलोत्तमा । कोशी प्रदेशविरुद्ध कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हात पारेको छ । मंगलवार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका अर्जुन घर्तीले नटआउट रहँदै सर्वाधिक ८८ रन बनाए । उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । हिमाशुं शाहीले ७३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे । निश्चल रावल १२, प्रकाश जैसी १८ तथा सुनिल धमला १३ रनमा आउट भए ।
कोशीका लागि विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए ।
२ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट भयो । कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । उनले ५२ बलको सामना गर्दै ४ चौका प्रहार गरे । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए । जितसँगै कर्णाली ५ खेलमा दोस्रो जितका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी छैठौं खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।

लेखकको सम्वन्धमा