बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन
0 0
Read Time:8 Minute, 33 Second

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बस्ने रिमालले विभिन्न ठाउँमा सहकारी स्थापना गर्ने र रकम अपचलन गर्ने काम गरेका हुन् । रिमालले सुरुमा बर्दिया जिल्लामा नमस्ते सहकारी स्थापना गरे । त्यहाँ उनले ५ करोड रकम अपचलन गरे । त्यसपछि दाजु नरेन्द्र रिमाललाई अध्यक्ष बनाएर आफूले नेपालगन्जमा नमस्ते सहकारीको स्थापना गरी त्यहाँ पनि रकम अपचलन गरेका थिए । नेपालगन्जमा रहेको उक्त सहकारीको ९८ करोड पुँजीमध्ये उनले ३० करोड रकम अपचलन गरेको सहकारीका सचिव प्रकाश ज्ञवालीले बताए ।

उनले अन्य केही साना सहकारीबाट पनि ऋण लिने तर नतिर्ने गरेको पाइएको ज्ञवालीले बताए । रिमालले योजनाबद्ध रूपमा आफन्त र कर्मचारीलाई अगाडि सारेर सहकारीबाट ऋण लिने र डुबाउने काम गरेको भेटिएको हो । लुम्बिनी सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलका अनुसार उनले बर्दिया र नेपालगन्जको नमस्ते बहुउद्देश्यीय सहकारीदेखि जनउत्थान सहकारीबाट ऋण लिँदा आफै अध्यक्ष बन्ने र दाइलाई र ससुरालाई समेत अध्यक्ष बनाउने गरेको भेटिएको बताए । अझै व्यवस्थापकमा आफ्नी श्रीमती र साथी राख्ने काम उनले गरेका थिए ।

उपाध्यक्ष पोखरलेले भने, ‘नियतवश नै जसरी हुन्छ जनताको पैसा जम्मा गर्ने अनि आफूले प्रयोग गर्ने गरेको देखिएको छ । त्यसका लागि जो जसलाई सकिन्छ, सबैलाई प्रयोग गरेको देखिन्छ ।’ नेपालगन्जमा जन्मिएका रिमालले सुरुमा बर्दियामा नमस्ते सहकारी दर्ता गरेका थिए । त्यसको केही समयपछि नेपालगन्जमा पनि अर्को सहकारी स्थापना गरे । बर्दियामा दाइ नरेन्द्र रिमाललाई अध्यक्षको जिम्मा लगाएर आफू नेपालगन्जमा अध्यक्ष बने । त्यहाँ उनले आफ्नी श्रीमती इलियालाई व्यवस्थापक बनाएर ।

त्यति मात्रै होइन नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवन चोकमा जनउत्थान सहकारी स्थापना गरी आफ्नै ससुरा नेत्रमणि भण्डारीलाई अध्यक्ष बनाए । त्यसमा आफ्नो साथी दीपक कार्कीलाई व्यवस्थापन हेर्न लगाए । ससुरा भण्डारीलाई सहकारीको विषयमा ज्ञान थिएन, न त रुचि नै । तर छोराजस्तै मान्ने ज्वाइँले आग्रह गरेपछि अध्यक्ष बस्नुपरेको उनको भनाई छ । भण्डारीले भने, ‘म सहकारीमा रुचि र ज्ञान भएको व्यक्ति होइन । ज्वाइँले बुवा नै बस्नुपर्छ, हजुर भएपछि मलाई पनि ढुक्क हुन्छ भनेपछि बसेँ ।’ यसरी योजनाबद्ध रूपमा विभिन्न ठाउँमा सहकारी स्थापना गरेका विष्णु रिमाल एक वर्षदेखि सम्पर्कविहीन रहेका छन् ।

उनका तीनवटा सहकारीबाट करिब साढे ३६ करोड रुपैयाँ अपचलन भएको देखिन्छ । नमस्ते बहुउद्देश्यीय सहकारीका सचिव प्रकाश ज्ञवालीका अनुसार नेपालगन्जको नमस्तेबाट ३० करोड र बर्दियाबाट ५ करोड अपचलन गरेको अडिट रिपोर्ट रहेको छ । यस्तै ससुरा अध्यक्ष बनेर ३ महिनापछि बन्द भएको जनउत्थान सहकारीबाट विष्णुको नामबाट ५० लाख, श्रीमतीको नाममा ५० लाख र नमस्ते सहकारका कर्मचारी कुलमणि अर्यालको नाममा ५० लाख रुपैयाँ ऋण लिएको देखिन्छ । बर्दियामा उनले मात्रै होइन, विष्णुका दाइ नरेन्द्र रिमालले पनि १० करोड रुपैयाँ अपचलन गरेको अडिट रिपोर्ट रहेको छ । दुवैजना सम्पर्कमा छैनन् । श्रीमती इलिया र दीपक कार्की पनि सम्पर्कमा छैनन् ।

ससुरालाई तनाव
नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा जनउत्थान सहकारी संस्था दर्ता भएको थियो । तर राम्रोसँग चलेको थिएन । त्यही बेला विष्णुले ससुरा नेत्रमणि भण्डारीलाई अध्यक्ष बनाउने योजनासहित जनउत्थान सहकारीलाई चलायमान बनाउने प्रक्रिया अगाडि ल्याए । ससुरालाई अध्यक्ष बन्न आग्रह गरे अनि व्यवस्थापक आफ्नो साथी दीपक कार्कीलाई राखे । सहकारीमा बजार प्रतिनिधि राखेर विभिन्न अफरहरू ल्याउँदै सरकारी सदस्य ११ सय पुर्‍याए ।

तीन महिनापछि आफ्नो, श्रीमती र नमस्ते सहकारीका कर्मचारी कुलमणि अर्यालको नाममा ५० लाखको दरले डेढ करोड रकम ससुरा अध्यक्ष भएको सहकारीबाट ऋण लिए । ऋण लिएको केही महिनापछि नै उनी सम्पर्कमा आउन छाडे । यता सोझा ससुरालाई तनाव सुरु भयो । यस बारेमा जिल्ला सहकारी बोर्ड र जिल्ला प्रशासन कार्यालयमा जानकारी भइसकेको थियो । गत वर्षको फागुन ६ गतेदेखि छोरी–ज्वाइँ फरार रहेका छन् । सहकारीका व्यवस्थापक दीपक कार्की पनि फरार छन् ।

उनीहरू फरार भएपछि बचतकर्ताहरूले कार्यालय घेरा हाल्नेदेखि कम्प्युटरदेखि टिभीसमेत उठाएर हिँडे । सहकारीको रकम ज्वाइँले अपचलन गरेपछि सङ्कट परेको सहकारी अहिले बन्द नै गर्नुपरेको भण्डारीले बताए । उनले त्यो सहकारी खोल्नु र बन्द गराउनु दुवैमा ज्वाइँ विष्णुको हात रहेको आरोप लगाए । उक्त सहकारीका बचतकर्ताको करिब १ करोड ५० लाख जति तिर्नुपर्ने अनुमान रहेको छ । सहकारी सदस्यहरूको ५–१० हजारदेखि १ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको छ ।

के हुँदैछ कानुनी प्रक्रिया ?

नेपालगन्जको नमस्ते बहुउद्देश्यीय सहकारीका सचिव प्रकाश ज्ञवालीले सहकारीको रकम अध्यक्ष र व्यवस्थापकले अपचलन गरेको पाइएपछि पटकपटक बोलाउने प्रयास भयो । सुरुका केही दिन सम्पर्कमा रहेका रिमालले विभिन्न बहाना दिँदै तिर्ने प्रतिबद्धता जनाएका थिए । तर उनी एक्कासि सम्पर्कविहीन बने । पछि सहकारी बोर्डको निर्देशनपछि अडिट गर्दा ३० करोड अपचलन गरेको देखिएको थियो । उनले अध्यक्ष र व्यवस्थापकलाई खोजी दिन जिल्ला प्रशासन कार्यालय र सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिइएको बताए ।लुम्बिनी प्रदेश सरकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार यमबहादुर कुँवरले नमस्ते सहकारीका अध्यक्ष विष्णु रिमाल, व्यवस्थापक इलिया भण्डारी (रिमाल) लगायत सम्पर्कमा नभएकोले खोजी गर्नको लागि निवेदन आएको जानकारी दिए । उनले यस विषयमा नियमानुसार प्रक्रिया अगाडि बढेको बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %