रुपन्देही–५ मा नयाँ–पुराना दल : कसैलाई विगत दोहोर्‍याउने त कसैलाई खाता खोल्ने मौका

रुपन्देही–५ मा नयाँ–पुराना दल : कसैलाई विगत दोहोर्‍याउने त कसैलाई खाता खोल्ने मौका
0 0
Read Time:6 Minute, 16 Second

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–५ मा चुनावी सरगर्मी बढ्दो छ । प्रमुख दलका उमेदवारसँगै केही स्वतन्त्र तथा साना दलका उमेदवारहरू पनि प्रतिस्पर्धामा उत्रिएका कारण चुनावी समीकरण थप पेचिलो बन्दै गइरहेको छ ।

यस क्षेत्रबाट नेपाली कांग्रेसले अनुभवी नेता भरतकुमार शाहलाई उमेदवार बनाएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा रहेका शाह संगठनात्मक पकड र मतदातासँगको सम्बन्धका कारण बलिया प्रतिस्पर्धी मानिन्छन् । कांग्रेसले क्षेत्रीय विकास, पूर्वाधार विस्तार र सामाजिक समावेशितालाई मुख्य चुनावी एजेन्डा बनाइएको जनाएको छ ।

त्यसैगरी, नेकपा (एमाले)ले खिमलाल भट्टराईलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । पूर्वराष्ट्रियसभा सदस्यसमेत रहेका भट्टराई अनुभवी राजनीतिज्ञ हुन् । एमालेले उनको अनुभव र संगठनात्मक नेटवर्कका आधारमा जितको दाबी गर्दै आएको छ ।

एमालेका स्थानीय कार्यकर्ताले यस क्षेत्रलाई आफ्नो पार्टीको प्रभाव क्षेत्र भएको दाबी गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनले ०७९ मै रुपन्देही–५ बाट चुनाव लड्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । तर, त्यतिबेला टिकट भने वासुदेव घिमिरेले पाएर विजयी पनि भएका थिए ।

नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तौफिक अहमद खानलाई उमेदवार बनाएको छ ।

बुटवल क्षेत्रमा सडक निर्माणको जिम्मा पाएको कम्पनी खानको हो । उनको कम्पनीले काम समयमा नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

रास्वपाले परम्परागत दलप्रति मतदातामा बढ्दो असन्तुष्टि आफूहरूको पक्षमा जाने विश्वास व्यक्त गरेको छ । साथै, युवा र परिवर्तनको एजेन्डालाई प्राथमिकतामा राख्दै रास्वपाले यस क्षेत्रमा कडै चुनौती दिने रणनीति बनाएको आकलन गरिएको छ ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मोहम्मद वकिल मुसलमान उमेदवार रहेका छन् । उनी पनि स्थानीयस्तरमा परिचित राजनीतिक व्यक्ति हुन् । सामाजिक न्याय, आर्थिक समानता र स्थानीय समस्या समाधानलाई प्राथमिक मुद्दा बनाएको उनी बताउँछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भने मीनप्रसाद घिमिरे उमेदवार बनेका छन् । घिमिरेले राष्ट्रवाद, सुशासन र परम्परागत मूल्यको संरक्षणलाई चुनावी एजेन्डा बनाउँदै मतदातासमक्ष पुगिरहेका छन् ।

यी हुन् अन्य उमेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाबाट जयश्वर रेग्मी, नेपाल मजदुर किसान पार्टीबाट जगिलाल थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्द्रा थापा मैदानमा छन् । यस्तै, जनमत पार्टीबाट ओमप्रकाश यादव, जनता समाजवादी पार्टी नेपालवाट तैफिक अहमद खान, श्रम संस्कृति पार्टीबाट शिवलाल विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट केशव भट्टराई उमेदवार छन् । यहाँ आठजना स्वतन्त्र उमेदवार छन् ।

यस्तो छ विगत

रुपन्देही-५ मा पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनको परिणाम हेर्दा राजनीतिक प्रतिस्पर्धा रोचक रूपमा बदलिँदै आएको देखिन्छ । ०७९ को निर्वाचनमा नेकपा एमालेका वासुदेव घिमिरे ३६ हजार ८२२ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरतकुमार शाह २७ हजार १२० मतसहित दोस्रो स्थानमा रहे ।

साथै, जनमत पार्टीका उमेदवार आठ हजार ३९० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका थिए । यस परिणामले एमालेले उक्त निर्वाचनमा क्षेत्रीय शक्ति सन्तुलन आफ्नो पक्षमा पार्न सफल भएको संकेत गरेको थियो ।

यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने नतिजा फरक देखिएको थियो । त्यसबेला कांग्रेसका भरतकुमार शाह ३३ हजार ८८ मतसहित विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डिलाराम आचार्य २० हजार ४३८ मत ल्याउँदै दोस्रो स्थानमा रहेका थिए भने संघीय समाजवादी फोरम नेपालका मोहम्मद वकिल मुसलमान १४ हजार १२१ मतसहित तेस्रो स्थानमा परेका थिए ।

यसरी हेर्दा ०७४ मा कांग्रेसको पकड रहेको रुपन्देही–५ मा ०७९ सम्म आइपुग्दा मतदाताको झुकाव एमालेतर्फ सरेको देखिन्छ । दुई निर्वाचनबीचको यो मत परिवर्तनले यस क्षेत्रको राजनीतिक समीकरण गतिशील रहेको र आगामी निर्वाचनमा परिणाम अझ प्रतिस्पर्धात्मक हुन सक्ने विश्लेषकहरूको आकलन छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %