रूपन्देही–२०६४ यता अपराजित पौडेललाई व्यवसायीदेखि स्वतन्त्रसम्मको चुनौती

रूपन्देही–२०६४ यता अपराजित पौडेललाई व्यवसायीदेखि स्वतन्त्रसम्मको चुनौती
0 0
Read Time:7 Minute, 11 Second

बुटवल । नेकपा (एमाले) नेता विष्णु पौडेलले रूपन्देही–२ बाट २०६४ सालयताका सबै निर्वाचन जित्दै आएका छन् । पाल्पा जाने निर्णय परिवर्तन गर्दे पौडैल आफ्नो विरासत जोगाउन रूपन्देही नै फर्किए । २०६४ यता अपराजित पौडेललाई व्यवसायीदेखि स्वतन्त्रसम्मले चुनौती दिएका छन् ।

पौडैल राजनीतिमा सक्रिय भएको ३१ वर्ष भइसक्यो । उनी रूपन्देहीबाट २०५६ सालदेखि चुनाव लड्दै आएका छन् । रूपन्देही–२ बाट पौडेलले २६ वर्षयता मत माग्दै आएका छन् ।

२०५६ मा पराजित पौडेलले ०६४, ०७० र ०७९ मा चुनाव जितेका थिए । २०७० मा पौडेलले डा. बाबुराम भट्टराईलाई हराएका थिए । ०७४ मा पौडेलसँग कांग्रेस नेता युवराज गिरी पराजित भएका थिए । २०७९ सालको निर्वाचनमा रास्वपाका गणेश पौडेलसँग उनी झिनो मतान्तरले विजयी भएका हुन् ।

अघिल्ला निर्वाचनमा फराकिलो मतान्तरले जित्दै आएका एमाले नेता पौडेल २०७९ को निर्वाचनमा भने १३ सय ६६ मतान्तरले विजयी भएका हुन् । संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउन आफूले फेरि मनोनयन दर्ता गरेको बताएका छन् ।

“घाइते संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउन र यस क्षेत्रमा सञ्चालित विकास आयोजनालाई प्रभावकारी बनाउन म आएँ,” उनले भने, “रूपन्देहीले मलाई छाड्न सक्दैन । मैले रूपन्देहीलाई छाड्न सक्दिँन । यो निर्वाचनमा जनताले विवेक पुर्‍याउनुपर्ने बेला छ ।”

पौडेललाई व्यवसायीदेखि स्वतन्त्रसम्मको चुनौती

लगातार चारपटक चुनाव जितेका पौडेललाई रूपन्देही–२ मा यसपटक व्यवसायीदेखि स्वतन्त्रसम्मले चुनौती दिएका छन् । उनका प्रतिस्पर्धीहरूमा कांग्रेसबाट चुन्नप्रसाद पौडेल छन् । रास्वपाबाट सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदीप पाण्डे चुनावी मैदानमा छन् ।

अघिल्लो चुनावमा उमेदवारी खारेज भएका कमल भुसाल (निकोलस) पनि चुनावी मैदानमा छन् । यस्तै राप्रपाबाट कर्भिका थापा प्रतिस्पर्धामा उत्रिएकी छन् ।

कांग्रेस उमेदवारको उद्योग हब बचाउने प्रतिबद्धता
कांग्रेसका पौडेल सफल उद्योगी हुन् । उनले रोजगारी सिर्जनाको मुद्दालाई अघि सारेका छन् । “मैले अहिले पाँच/सातवटा उद्योग चलाएको छु । स्वास्थ्य क्षेत्रमा पनि काठमाडौंपछि सुविधासम्पन्न हस्पिटल यहाँ बनाएको छु,” उनले भने, “आगामी दिनमा पनि उद्योग र व्यवसाय थप्दै पाँच हजार जनालाई दिँदै आएको रोजगारीको संख्या अझै विस्तार गर्नेछु ।”
कांग्रेसका पौडेल होटेल हायात प्यालेस, एशोदा फूड्स र बुटवल हस्पिटलका सञ्चालक हुन् । आफू निर्वाचित भएको खण्डमा यस क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने जिकिर उनले गरेका छन् । रूपन्देहीलाई उद्योग हब बनाउने प्रतिवद्धता पौडेलको छ ।

पुस्तान्तरण खोजिरहेका नेकपाका विश्वदीप
नेपाली कम्युनिस्ट पार्टीका उमेदवार विश्वदीप पाण्डेको पुस्तान्तरणको नारासहित चुनावी मैदानमा छन् । जेनजी आन्दोलनको मर्म पुस्तान्तरण भएको त्यसलाई रूपन्देहीका मतदाताले आत्सात गर्ने विश्वास उनले लिएका छन्

०६४ सालमा एमाले नेता पौडेलले माओवादी केन्द्रबाट भक्ति पाण्डेसँग प्रतिस्पर्धा गरेका थिए । भक्ति चाचाका रूपमा परिचित उनी विश्वदीपका बुवा हुन् । १८ वर्षअघि आफ्नो बुवासँग प्रतिस्पर्धा गरेका पौडेल निरन्तर चुनावी मैदानका रहेको भन्दै उनले पुस्तान्तरणको पक्षमा उभिन रूपन्देही–२ का मतदातालाई आग्रह गरेका छन् ।

“बुवा र म दुवैसँग विष्णु पौडेल प्रतिस्पर्धी बन्नुभएको छ । रूपन्देहीका लागि थुप्रै योगदान गर्नुभएको उहाँले अब विश्राम लिनुपर्ने समय आएको छ,” उनले भने, “म युवाको म्यान्डेटसहित चुनावमा आएको छु । जनतासँग छलफल गर्दै सामूहिक निष्कर्षका आधारमा नमूना क्षेत्र बनाउनेगरी अघि बढ्छु ।”

मत बदलिनेमा आशावादी रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीमा मत बदलिनेमा आशावादी देखिएको छ । रास्वपाका पौडेलसँग ०७९ मा झिनो मतले विजयी एमाले नेता पौडेललाई यसपटक सुलभ पोखरेलले चुनौती दिँदै छन् ।

सुशासनप्रति रास्वपाका एजेन्डामा जनता आकर्षित रहेकाले मत बदलिने उनको विश्वास उनको छ । “जेनजी आन्दोलनपछि देशभरबाट हामीलाई माया गरिरहनुभएको छ । सुशानप्रतिको हाम्रा एजेन्डामा जनता आकर्षित हुनुहुन्छ । यसपटक मत बदलिने विश्वास छ,” उनले भने ।

यस्ता छन् अन्य उमेदवार

जनता दलबाट राजु पौडेल, जनमोर्चाबाट रूकबहादुर पराजुली र जनता समाजवादी पार्टी नेपालबाट दीपक गुरुङ उमेदवार छन् ।

नेकपा (माओवादी)बाट वीरेन्द्र विक, जनमुक्ति पार्टीबाट केशबबहादुर थापा, श्रम संस्कृति पार्टीबाट भीमबहादुर गौतम, समावेशी समाजवादी पार्टी देवेन्द्र खत्री चुनावी मैदानमा छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसनल अर्गनाइजेसनबाट चन्द्रकुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जुलगायतले मनोनयन दर्ता गरेका छन् । रूपन्देही क्षेत्र नम्बर २ मा एक लाख ३५ हजार ५० मतदाता छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %