रुपन्देही–१ मा प्रतिस्पर्धामा एक्ला पूर्वसांसद, ‘नयाँ’ले दिँदै छन् टक्कर
बुटवल । रुपन्देही क्षेत्र नम्बर–१ मा यसपालि ‘नयाँ’ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा राजनीतिक पार्टीका २० र स्वतन्त्र ११ गरी ३१ जनाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छन् ।
विगतमा दुर्योधनसिंह थारूले ‘ह्याट्रिक’ गरेको क्षेत्र हो यो । पछिल्लो समय छविलाल विश्वकर्मा दोहोरिएको क्षेत्रमा हाल यी दुवै उमेदवार प्रतिस्पर्धामा छैनन् । उनीहरूबाहेक यो क्षेत्रबाट अब्दुल रज्जाक र घनश्याम यादवले एक/एकपटक संघीय संसद्मा जाने अवसर पाए । उनीहरू पनि यसपटक चुनावी मैदानमा छैनन् ।
नेपाली कांग्रेसबाट हिराबहादुर खत्री उमेदवार बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनील लम्साल उमेदवार छन् । उनी पहिलोपल्ट संसदीय निर्वाचनमा होमिएका हुन् ।
नेकपा (एमाले)बाट उमेदवार बनेका दधिराम न्यौपाने प्रदेश सांसद भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा भने उनको पनि पहिलो प्रतिस्पर्धा हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रज्ज्वल बोहोरा पनि पहिलोपटक संसदीय निवाचन लड्दै छन् । उनी दिवंगत पूर्वसांसद दीपक बोहोराका छोरा हुन् ।
कहिले कसले जिते ?
०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना र बहुदलीय व्यवस्था लागु भएपछि ०४८ मा आमनिर्वाचन भयो । त्यति बेला रुपन्देही–१ मा कांग्रेसका दुर्योधनसिंह थारू र एमालेबाट भीमनारायण थारू उमेदवार थिए । यी दुई दलबीच मुख्य प्रतिस्पर्धा थियो । ५२५ मतान्तरले चुनाव जिँदै दुर्योधन संसद् प्रवेश गरे ।
०५१ सालमा मध्यावधि निर्वाचन भयो । एमालेका घनश्याम भुसाल दुर्योधनको प्रतिस्पर्धी बने । अनेरास्वियुको विद्यार्थी राजनीतिबाट उदाएका भुसाल त्यति बेला एमाले रुपन्देही जिल्ला कमिटीका सचिव थिए ।
तर, दुर्योधनले दोस्रोपटक बाजी मारे । उनले घनश्यामलाई करिब १५ सय मतान्तरले पराजित गरे ।
०५६ को निर्वाचनमा दुर्योधनसँगै एमालेका घनश्याम यादव मैदानमा उत्रिए । दुर्योधनले तेस्रोपटक जितेर ह्याट्रिक गरे । यादवलाई उनले साढे चार हजार मतान्तरले हराए ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुर्योधन उमेदवार बनेनन् । कांग्रेसबाट पार्टीका तत्कालीन जिल्ला सभापति अब्दुल रज्जाकले टिकट पाए । एमालेबाट छविलाल विश्वकर्मा उमेदवार बने ।
०५६ मा एमालेबाट चुनाव लडेका घनश्याम यादव ०६४ मा नेकपा (माओवादी)मा प्रवेश गरे । र, प्रतिस्पर्धामा उत्रिए । माओवादीको लहर भएको त्यो समयमा यादवले नै चुनाव जिते ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका रज्जाक र एमालेका विश्वकर्मा पुनः मैदानमा उत्रिए । रज्जाक विजयी भए । ०७४ मा विश्वकर्माले नतिजा उल्ट्याउँदै रज्जाकलाई हराए ।
त्यति बेला एमाले र माओवादीको गठबन्धन थियो । विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएका थिए । उनका निकटम प्रतिस्पर्धी रज्जाकले २६ हजार ८८५ मत पाएका थिए ।
०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाललाई समर्थन गरेका थिए । उनले त्रिशूल चुनाव चिह्न पाएका थिए । एमालेबाट विश्वकर्मा नै उमेदवार थिए । विश्वकर्मा २४ हजार ८८२ मत ल्याएर विजयी भए । भुसालले २१ हजार ३१८ मत पाए ।
यो क्षेत्रबाट तीनपटक विजयी भई ह्याट्रिक गरेका दुर्योधनले ०६४ पछि चुनाव लडेनन् । केही वर्षअघि उनको निधन भइसकेको छ ।
कांग्रेसबाट एकपटक विजयी भएका रज्जाक प्रदेश सांसद छन् । दुईपल्ट सांसद बनेका एमालेका विश्वकर्मा यसपटक चुनाव लडेनन् ।
रुपन्देही–१ मा पूर्वसांसद/सभासद्मध्ये ०६४ मा चुनाव जितेका घनश्याम यादव मात्र यसपालि प्रतिस्पर्धामा छन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उमेदवार बनेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय जनमोर्चाका तर्फबाट हरिबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का रामचन्द्र भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट हिमलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका झमबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट शिवबहादुर गुरुङ, जनमत पार्टीका निलुकुमारी चौधरी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट हजारीलाल माली, जनता समाजवादी पार्टी, नेपालका मोहम्मद असलाम खाँ उमेदवार छन् ।
यस्तै, आम जनता पार्टीबाट बदरु दोजा फकीर, नेसनल रिपब्लिक नेपालका खिलबहादुर गाहा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट श्रीबहादुर कुँवर, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मदनबहादुर थारू, उज्यालो नेपाल पार्टीका अशोककुमार चौधरी र नागरिक उन्मुक्ति पार्टी, नेपालबाट उमाशंकरप्रसाद चौधरी प्रतिस्पर्धामा छन् ।
रुपन्देही–१ मा उनीहरूबाहेक ११ स्वतन्त्र उमेदवारमा दिनानाथ खनाल, गीता सापकोटा, गोविन्द पंगेनी, महेश्वर भण्डारी, सचिन विक, सागर अधिकारी, केशव अर्याल, टेकबहादुर विक, मकसुद अली, धर्मबहादुर केसी र शंकर खत्री छन् ।
०७९ को समानुपातिक मत
०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ रुपन्देही–१ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले तीन हजार ७३ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले ८०३ मत पाएको थियो । हाल यी दुईलगायत पार्टी ‘मर्ज’ भएर नेकपाबाट उमेदवार प्रतिस्पर्धामा छन् ।
त्यति बेला कांग्रेसले समानुपातिकतर्फ १९ हजार १२५ मत पाएको थियो । दोस्रो स्थानमा रहेको रास्वपाले १५ हजार ८०० मत ल्याएको थियो ।
१५ हजार ७२४ मत ल्याएको एमाले तेस्रो भएको थियो । ११ हजार २४३ मतसहित राप्रपा चौथो स्थानमा थियो ।

लेखकको सम्वन्धमा