कांग्रेस शक्ति बन्ने निर्वाचन परिचालन समिति लुम्बिनी प्रदेशका संयोजक राजु खनालको दाबी
बुटवल । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो सिट संख्या नघटाई पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित स्पष्ट रणनीति अघि सारेको छ।
निर्वाचन परिचालन समिति लुम्बिनी प्रदेशका संयोजक राजु खनालले कांग्रेस बहुमतको आधारमा सत्तामा पुग्ने तयारीमा रहेको बताउँदै निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट नीति लिएको जानकारी दिए।
संयोजक खनालका अनुसार नेपाली कांग्रेस आफ्नै बल, संगठन र जनविश्वासका आधारमा निर्वाचनमा होमिनेछ। “नेपाली कांग्रेसप्रति जनताको विश्वास बलियो छ। यही विश्वासका कारण पार्टी यसपटक पनि पहिलो पार्टीका रूपमा स्थापित हुन्छ,” उनले भने ।
लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले केन्द्रको नीति र निर्देशनअनुसार जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँड गरिसकेको छ। प्रदेश कार्यसमितिका सदस्यहरूलाई आ–आफ्नो जिल्लामा खटाइ प्रभावकारी रूपमा निर्वाचन परिचालन गर्न निर्देशन दिइएको छ। केन्द्रको स्पष्ट नीति अनुसार स्थानीय आवश्यकता र परिस्थितिलाई ध्यानमा राख्दै आ–आफ्नो क्षेत्रमा कांग्रेसको संगठन मजबुत बनाउने र निर्वाचनलाई प्रभावकारी बनाउने रणनीति अपनाइएको छ।
जिल्लामा रहेका पार्टीका अनुभवी नेता तथा कार्यकर्तालाई नै त्यहीँ खटाएर संगठन सुदृढीकरण, मतदाता भेटघाट, जनसम्पर्क र प्रचार–प्रसारलाई तीव्र बनाइने समितिको तयारी छ। यसले पार्टीलाई जरा तहसम्म मजबुत बनाउँदै निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास कांग्रेसले लिएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अनुशासित, एकताबद्ध र जिम्मेवार ढंगले निर्वाचनमा सहभागी भई लोकतान्त्रिक मूल्य, सुशासन र समृद्धिको एजेन्डासहित जनतामाझ जाने प्रतिबद्धता जनाएको छ।

लेखकको सम्वन्धमा