पाल्पा–२ का उम्मेदवार सोमप्रसाद पाण्डे भन्छन – चेतनशील मतदाताको भरोसाले जित सुनिश्चित छ
बुटवल । नेपाली कम्युनिस्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले देशभरको चुनावी माहोल तरल बन्दै गएको र ‘नयाँ हेरौँ, पुरानो फेरौँ’ भन्ने चाहना जनतामा बढ्दै गएको बताएका छन्। बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा उनले पाल्पाली जनताबाट प्राप्त सद्भाव र स्नेहले आफूलाई अझ नयाँ र ऊर्जावान बनाएको अनुभूति भएको बताए।
मतदानका बेला मतदाताले उम्मेदवार अभिभावक बन्न सक्छ कि सक्दैन भन्ने कुरामा गहिरो सोच्ने गरेको उल्लेख गर्दै पाण्डेले पाल्पाका मतदाता चेतनशील रहेको दाबी गरे। “निस्वार्थ भावले काम गर्दा नै जितको आधार बन्छ,” उनले भने। तीन पक्षीय प्रतिस्पर्धा भए पनि समानुपातिक मतको आधार हेर्दा प्रतिस्पर्धा कडा हुने र आफूहरू कमजोर नरहेको उनको भनाइ थियो।
आफू जनप्रतिनिधि भएको २०७४ देखि २०७९ सम्मको कार्यकालमा पाल्पाले प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्ला सरह तथा केही वर्ष तिनभन्दा बढी बजेट पाएको दाबी गर्दै पाण्डेले विकास कोषबाट समेत व्यापक काम गरिएको बताए। आफ्नो कार्यकालमा करिब ३ सय योजना सम्पन्न गरिएको उनको भनाइ छ।
पाण्डेले सिद्धबाबा सुरुङमार्गको सुरुआती प्रक्रिया आफूले नै अगाडि बढाएको उल्लेख गर्दै, विगतमा ९७२ जनाको ज्यान गइसकेपछि मात्र स्रोत सुनिश्चित भई हाल सञ्चालनको तयारी चरणमा पुगेको बताए। साथै बुटवल–तानसेन–पोखरा सडकलाई डेडिकेटेड सडकका रूपमा विकास गरिने योजना रहेको जानकारी दिए।
तानसेनलाई ऐतिहासिक सहरको रूपमा विकास गर्न ७७ बुँदे अवधारणा पेश गरिसकेको बताउँदै उनले पाल्पालाई पर्यटकीय जिल्लाको रूपमा अझ सशक्त बनाउने योजना सुनाए। श्रीनगरको मौलिकता नबिग्रने गरी नेपालकै सबैभन्दा ठूलो बुद्ध मूर्ति स्थापना गर्ने परिकल्पना समेत अघि सारे।
उनका अनुसार बुद्ध धर्मावलम्बीको बसोबासका हिसाबले तानसेन काठमाडौंपछि दोस्रो स्थानमा पर्दछ। लुम्बिनी आउने पर्यटकलाई तानसेनलाई ‘हिल स्टेशन’को रूपमा विकास गर्दै बुद्ध धर्म प्रवर्द्धन गर्ने योजना रहेको उनले बताए। तानसेन–हार्थोक सडक स्तरोन्नतिको अवधारणा समेत आफूले अघि सारेको पाण्डेको भनाइ छ।
पाण्डेले पाल्पालाई समृद्ध बनाउने लक्ष्यसहित कृषिलाई आधार मानेर पर्यटन, खानी, शैक्षिक हब लगायत क्षेत्रको विकास गर्दै ‘समृद्ध पाल्पा’ निर्माण गर्ने योजना रहेको स्पष्ट पारे।

लेखकको सम्वन्धमा