पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

बुटवल । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिजमा विजयी सुरुवात गरेको छ । नेपालले आज भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको २०४ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनी ६९ बलमा पाँच चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए । आशिफ शेख ४४ रनमा आउट भए । उनी ३९ बलमा पाँच चौका प्रहार गर्दै ४४ रन बनाएर आउट भएका थिए ।
आशिफ र कुशल भुर्तेलले ७६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । आरिफ शेख ३३, कप्तान रोहितकुमार पौडेल २० रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी २२ र ज्ञानेन्द्र मल्ल चार रनमा आउट भए । कुशल मल्ल १२ रनमा अविजित रहँदा सोमपाल कामी पाँच रनमा अविजित रहे ।
बलिङतर्फ पपुवा न्युगिनीका कप्तान असद भालाले तीन विकेट लिदा सेसे बाउ र नोरमन भनुवाले समान १–१ विकेट लिए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाएपछि नेपालले मध्यम चुनौती पाएको हो ।
पपुवा न्युगिनीका चाड सोपरले ३६ रनमा अविजित रहे । त्यस्तै, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किप्लिन डोरिगालाई २९ र नोरमन भनुवाले २५ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले तीन विकेट लिए । कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।
पपुवा न्युगिनीले खराब सुरुआत गरेको थियो । ११ रन हुँदा पहिलो विकेटको रुपमा टोनी उरालाई गुमाएको पपुवा न्युगिनीले ६१ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । दोस्रो विकेटका लागि डोरिगाले सेसे बाउसँग मिलेर ५० रनको साझेदारी गर्दै पपुवा न्युगिनीलाई उकासेका थिए । त्यसपछि आठौँ विकेटका लागि पपुवा न्युगिनीका नोरमन भनुवा र चाड सोपरले ४३ रनको साझेदारी गरेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।
अब १८ गते बिहीबार घरेलु टिम यूएईसँग खेल्ने नेपालले १९ गते शुक्रबार पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले सिरिजको अन्तिम खेल पपुवा न्युगिनीसँग २२ गते सोमबार खेल्नेछ । यो जितसँगै छैटौँ स्थानमा रहेको नेपालले २९ खेलबाट २८ अंक बनाएको छ । लिग टु को पुछारमा रहेको पपुवा न्युगिनीको २९ खेलबाट पाँच अंक छ ।
३६ खेल खेलिसकेको स्कटल्यान्ड लिगु टु को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्न पुग्यो । योसँगै स्कटल्यान्ड विश्वकप छनोटमा पुगेको छ । दोस्रो स्थानमा रहेको ओमानको पनि कूल ३६ खेलबाट खेलबाट ४४ अंक छ । ओमान पनि विश्वकप छनोटमा पुगेको छ ।
तेस्रो स्थानमा को पर्ने भनेर अब तीन राष्ट्रको लडाइँ हुनेछन् । जसमा नेपाल, यूएई र नामिबिया छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाले सबै ३६ खेल खेल्दै ३९ अंक बनाएको छ । चौथो स्थानमा रहेको अमेरिकाको कुल ३६ खेलबाट ३५ अंक छ । यता, पाँचौँ स्थानमा रहेको यूएईको २८ खेलबाट २९ अंक छ ।
लेखकको सम्वन्धमा