एभरेष्ट माविमा खाना महोत्सव सम्पन्न
बुटवल, २९ माघ । बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा खाना महोत्सव सम्पन्न भएको छ । कक्षा ८ को पेशा, व्यवसाय र प्रविधि शिक्षा विषयको प्रयोगात्मक कार्य अन्तर्गत उक्त खाना महोत्सव आयोजना गरिएको हो । कक्षा ८ मा अध्ययनरत १६४ जना विद्यार्थीहरुलाई १२ वटा समूहमा विभाजन गरी प्रत्येक समूहका अलग अलग स्टलहरुको व्यवस्था गरिएको उक्त महोत्सवमा शाहाकारी तथा मांसाहारी गरी जम्मा ३० प्रकारका खानेकुराहरु तयार पारिएको थियो । खाना महोत्सवको उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीहरुले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई यसरी प्रयोगात्मक रुपमा प्रस्तुत गर्दा उक्त ज्ञान चिरस्थायी बन्ने हुनाले यस प्रकारका प्रयोगात्मक कार्यले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी महोत्सवको समापनमा बोल्दै सहप्राचार्य भिमसेन गौतमले महोत्सव सफल पार्न सहयोग पु¥याउने शिक्षक, कर्मचारी र कक्षा ८ का सम्पूर्ण छात्रछात्राहरुलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उप प्राचार्य उमेश रेग्मीले महोत्सवमा तयार पारिएका परिकारहरुको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई विद्यालयले आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महोत्सवमा करिब एक हजार अभिभावक, ३ सय विद्यार्थी र २५० शिक्षक एवं कर्मचारीहरुले आ–आफ्ना रोजाइअनुसारका खानाका स्वाद लिने मौका प्राप्त गरेका थिए । कार्यक्रमको संयोजन शिक्षक मान बहादुर थापाले गर्नुभएको थियो । त्यसैगरी अतिरिक्त क्रियाकलाप अन्तरर्गत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका बिच अन्तर सदनात्मक गायन प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त कार्यक्रमको संचालन नि.मा.वि. संयोजक सरस्वती पाण्डेले गर्नुभएको थियो ।


लेखकको सम्वन्धमा