उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)

उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)
0 0
Read Time:6 Minute, 5 Second

बुटवल, २२ माघ । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूणर् भूमिका रहने बताएका छन् । प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

उनले स्थानीय सरकारहरुमा पनि महानगर, उपमहानगर र गाउँनगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक सामाजिक हिसाबले श्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताए ।
संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानून निर्माणमा चासो दिनुपर्ने बताए ।
उनले बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले यसले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

उनले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि संघीय सरकारले चासो देखाउनुपर्ने बताए ।
उनले महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक फरक रहेकाले सोहीअनुसारले आर्थिक श्रोतको वितरण गरिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरेअनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संघीय सरकारले विशेष चासो देखाउनुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई अरु बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए ।

नेपाल नगरपालिका संघका सहकोषाध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले संघीयता सफल बनाउन स्थानीय सरकारहरुलाई सफल बनाउनुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरुको जिम्मेवारी तोकी सोही बमोजिमको कानुन बनाउन संघीय सरकारले तदारुपता देखाई प्रदेश र स्थानीय सरकारलाई कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए ।

उनले संघीय सरकारका विषयगत मन्त्रालयहरूबाट स्थानीय सरकारका अधिकारहरुमाथि अंकुश लगाउने प्रयास भएको भन्दै स्थानीय सरकारलाई स्थानीय निकायजसरी व्यवहार गर्न नहुने बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रुपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एकैठाउँमा उभिएको बताए । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्कालगायतले बोलेका थिए ।
आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ । छलफलमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरुको सहभागिता रहेको छ ।विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

याे पनि पढ्नुहोस-
उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय
आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन
उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन बुटवलबाट प्रत्यक्ष प्रशारण

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %