विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
काठमाडौँ । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले छलफलमा अल्झाएर र अल्मल्याए पनि सिङ्गो देशभरका कांग्रेस कार्यकर्तालाई कति अल्मल्याउने हो भनेर शेरबहादुर देउवा पक्षलाई प्रश्न गरेका छन् ।
भृकुटी मण्डपस्थित विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले देउवा पक्षले आफूहरूलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको बताएका हुन् । साथै उनले सर्वसहमतिबाट नेतृत्व चयन गर्ने भन्दै धैर्य र संयमता अपनाउन महाधिवेशन पक्षधरलाई आग्रह गरे ।
‘यो लडाईं हो, अभियान हो । यो विशेष महाधिवेशनले जे निर्णय गर्छ नेपालको निर्वाचन आयोगले मान्छ । कांग्रेस यही छ, यही रहन्छ’, उनले भने, ‘यहाँ उभिने हो कि जहाँ सबै कुरा सकिएको छ त्यहाँ सोच्ने हो ?’
साथै उनले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको पनि बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौँ,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौँ भनेर हट्ने होइन ।’

लेखकको सम्वन्धमा