लुम्बिनी–तौलिहवा सडक खण्ड जीर्ण बन्दै: अत्यधिक सवारी चाप र खाल्टाखुल्टीले दुर्घटनाको जोखिम उच्च
कपिलवस्तु। लुम्बिनी–तौलिहवा सडक खण्ड ठाउँ–ठाउँमा भत्किएर जीर्ण बनेपछि यात्रा कष्टकर हुनुका साथै सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ । विशेषगरी पकडीदेखि दोहनी हुँदै तौलिहवासम्मको सडक खण्डमा खाल्टाखुल्टी र अत्यधिक धुलोका कारण जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।
सडकको अवस्था नाजुक हुँदा दैनिक आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको दोहनीका स्थानीय बासिन्दाहरूको गुनासो छ । सडकबाट उड्ने धुलो र धुवाँले स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको छ भने सडक छेउछाउका पसल तथा होटलका खानेकुरासमेत फोहोर हुन थालेको व्यवसायीहरूले बताएका छन् ।
सडक मर्मत तथा धुलो नियन्त्रणका लागि ठेकेदार कम्पनी र जिल्ला प्रहरी कार्यालयमा समेत पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरिरहे आफूहरू बाध्य भएर आन्दोलनमा उत्रने चेतावनीसमेत स्थानीयले दिएका छन् ।
पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने अधिकांश साना तथा ठूला सवारी साधनहरूले अहिले वैकल्पिक मार्गका रूपमा हुलाकी राजमार्गअन्तर्गतको यही सडक प्रयोग गर्न थालेका छन् । जसका कारण लुम्बिनी–भैरहवा तथा तौलिहवा सडक खण्डमा सवारी साधनको चाप अप्रत्याशित रूपमा बढेको छ ।
सवारी चाप अत्यधिक बढे पनि सडकको अवस्था भने दयनीय छ । सडक डिभिजन कार्यालयका सबिन कोइरालाका अनुसार पकडीदेखि तौलिहवासम्मको बिग्रिएको सडक खण्ड मर्मत तथा निर्माणको जिम्मा ‘जय निर्माण सेवा’ ले करिब ९० लाख रुपैयाँ लागतमा लिएको छ ।
लामो दूरीका सवारी साधनको बढ्दो चाप र सडकको जीर्ण अवस्थाका कारण यस खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र मर्मत कार्यलाई तीव्र गतिमा अगाडि बढाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्

लेखकको सम्वन्धमा