बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु

बुटवल उपमहानगरपालिका स्थापनाकाे ६७ वर्ष, यस्ता छन प्रगतीहरु
0 0
Read Time:3 Minute, 39 Second

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै छ । वि.सं. २०१६ साल फागुन ३ गते तत्कालिन बटौली बजारलाई बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले आज मूल समारोह कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा मनाइने भएको पाण्डेयले बताए । उनले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिने पनि बताए ।

उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उनको भनाइ छ । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै जितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले आगामी वर्षमा महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिइन् । उनले शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि बताइन् ।

उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक र विकासमुखी कार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउने लक्ष्य लिएको जनाएको छ। बुटवल उपमहानगरपालिका आव २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा उपमहानगर मध्य सर्वोकृष्ट बन्न सफल भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवनको पुनः निर्माण गरेर खरानी टक्टकाउँदै भोलिका दिनमा बुटवललाई बस्न लायकको अब्बल नगर बनाउने अभियानमा आफु दृढसंकल्पित रहेको नगर प्रमुख पाण्डेय बताउँछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %