‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’

‘मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा अत्यावश्यक’
0 0
Read Time:4 Minute, 48 Second

बुटवल । मातृ तथा नवजात शिशुको स्वास्थ्य संरक्षणका लागि स्वच्छ हावा अति नै महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्।

आइतबार सेतो गुराँस बालविकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले परियोजनाको उद्देश्य, लक्ष्य तथा अपेक्षित नतिजाबारे जानकारी गराउँदै उक्त धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बढ्दो शहरीकरणसँगै वायु प्रदूषणसमेत बढ्दै गएको बताइन्। उनले बुटवललाई प्रदूषणमुक्त बनाउन उपमहानगरपालिकाले सरसफाइलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरिन्।

शिशु अवस्थामा नै स्वच्छ हावाको अभाव भए भविष्यमा विभिन्न जटिल स्वास्थ्य समस्या देखा पर्न सक्ने उनको भनाइ थियो।
यस्तै सेतो गुराँस बालविकास केन्द्रका कार्यक्रम संयोजक निरञ्जन पोखरेलले मातृ तथा नवजात शिशुका लागि स्वच्छ हावा किन आवश्यक छ भन्ने विषयमा समुदायस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। परियोजनाअन्तर्गत घर–घरमा पुगेर जानकारी दिने लक्ष्य रहेको उनले जानकारी दिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलमा यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै कार्यक्रम कार्यान्वयनका क्रममा आइपर्ने समस्यामा सहजीकरण गर्न स्वास्थ्य शाखा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

एचएफआईए ३६० को साझेदारीमा सेतो गुराँस बालविकास केन्द्रले बुटवल उपमहानगरपालिका तथा सैनामैना नगरपालिकामा आम नवजात लक्षित स्वच्छ हावा अभियान सञ्चालन गर्न लागेको हो। घाँस–दाउरा तथा परम्परागत चुल्हो बढी प्रयोग हुने क्षेत्रलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाका वडा नं. १६, १७, १८ र १९ तथा सैनामैना नगरपालिकामा ५, ६,७,९,१० र ११ मा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूका लागि सचेतना कार्यक्रम, ग्रासरुट तहमा अभिमुखीकरण तथा चिकित्सकहरूसँग अन्तरक्रिया गरिनेछ। वायु प्रदूषणका कारण गर्भवती महिला, नवजात शिशु तथा बालबालिकामा पर्ने गम्भीर स्वास्थ्य जोखिम न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार, विश्व बैंकले सन् २०२५ जुन ७ मा सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिब ४० हजार जनाको मृत्यु हुने गरेको देखाएको छ। वायु प्रदूषणले जनस्वास्थ्यमा मात्र नभई देशको औसत आयु घटाउनसमेत ठूलो असर पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुखले वायु प्रदूषणको अवस्था डरलाग्दो बन्दै गएको भन्दै यसले दीर्घकालीन रूपमा ठूलो क्षति निम्त्याउने चेतावनी दिइन्। उनले छिट्टै गर्भवती महिलालाई लक्षित विशेष कार्यक्रम ल्याइने र स्वच्छ हावा अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

वक्ताहरूले वायु प्रदूषण धेरै रोगको मूल कारण बन्दै गएको, यसले मृत्यु तथा अपाङ्गता निम्त्याइरहेको उल्लेख गर्दै नीति निर्माण, प्रभावकारी कार्यान्वयन तथा सुशासनमा सरकारको विशेष ध्यान आवश्यक रहेको औँल्याएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %