फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह

फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह
0 0
Read Time:7 Minute, 18 Second

बुटवल। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवका अवसरमा मंगलबार आयोजना गरेको यो कार्यक्रममा सहभागीहरुले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव राखेका छन् । उद्योग संघको व्यवस्थापनमा पत्रकार महासंघले प्रदर्शनीको पहिलो पेभलियनमा फोटो प्रदर्शनी राखेको छ ।
मंगलबारको अन्तरसंवादमा सहभागीले फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग र संस्थागत सहकार्यका विषयमा केन्द्रित कार्यक्रमले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्तिलाई उजागर गरेको र फोटो इतिहास तथा डिजिटल संरक्षणमा जोड दिइएको छ । कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरुले संस्थागत योजना र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यो कार्यक्रमले फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्रीलाई ‘जीवित इतिहास’को रूपमा व्याख्या गरे। उनले सकारात्मक सन्देश दिने अभियानमा सबै लाग्नुपर्ने बताए । “उद्योग संघले सहकार्यको जग बसालेको छ,” उनले भने, “अब अन्य संस्थाहरूका लागि पनि सहकार्यको बाटो खुलेको छ ।”

रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई बलियो बनाउन यति ठूलो लगानी गरेर हार्दिकता देखाएको बताए । उनले संस्थागत विकासका लागि सहकार्य अपरिहार्य रहेको बताउनुभयो । “फोटो कथा, भावना र स्मृति दिलाउने माध्यम हो,” उनले भने, “यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । नयाँ पुस्तालाई जोड्न प्रविधिलाई पछ्याउनुपर्छ, उद्योग र अर्थतन्त्रको विकासका लागि रचनात्मक सुझाव आवश्यक छ ।” त्यस्तै रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताउँदै पत्रकार महासंघले गर्ने यस्ता रचनात्मक कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकालले फोटो प्रदर्शनी र अनुसन्धानलाई दीगो बनाउन समीक्षासहितको योजना आवश्यक रहेको बताउनुभयो । “यस्ता कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाऔं,” उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा। बालकृष्ण चापागाईंले फोटो र समाचार इतिहासका साक्षी भएको उल्लेख गर्दै फोटोले समय, घटना र समाजलाई जीवन्त बनाउने बताउनुभयो । “फोटो केवल दृश्य होइन, इतिहास हो,” उनले भने “यसको संरक्षण र अध्ययनले भावी पुस्तालाई तथ्य र अनुभूति दुवै दिन्छ ।”
त्यस्तै महासंघका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूपको संज्ञा दिनुभयो । उहाँले प्रविधिले फोटो संकलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको उल्लेख गर्दै भन्नुभयो, “अब कागजमा मात्रै राखेर हुँदैन, डिजिटल माध्यमबाट सबै सामग्री सुरक्षित गर्नुपर्छ । संस्थागत रूपमा डिजिटल अभिलेख बनाउने समय आइसकेको छ ।”
सहभागीले पत्रकारलाई राजनीति मात्र होइन नागरिकका आवाज तथा वातावरणका विषयमा पनि विषय उठान गर्न आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकारहरु भरत केसी, खिमानन्द भट्टराई, र अध्येता विजय हितानले फोटो पत्रकारिताले राजनीति मात्र होइन, वातावरण संरक्षणजस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । वक्ताहरूले फोटोमार्फत सामाजिक उत्तरदायित्व र सार्वजनिक चासोका विषयलाई सशक्त रूपमा उठाउन सकिने बताउँदै रुपन्देही उद्योग संघले जस्तै अरु संस्थाहरुले पनि यसमा सहकार्य गर्न आग्रह गर्नुभएको थियो । फोटो पर्यटन उद्योगको हिस्सा रहेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बताए । फोटोमा हुने शक्तिको महत्त्व उल्लेख गर्दै फोटो पर्यटन उद्योगको अभिन्न हिस्सा भएको उहाँको धारणा थियो । “फोटो आफैंमा कथा, आकर्षण र प्रवर्द्धन हो,” उनले भने “यो विशाल उद्योगसँग जोडिएको विषय हो, जसलाई व्यवस्थित रूपमा उपयोग गर्न सकिन्छ ।”

कार्यक्रम नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव सिपि खनालको सञ्चालन, अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा उपाध्यक्ष विश्वास ढकालको स्वागत मन्तव्यसहित सुरु भएको थियो । पत्रकार महासंघले रुपन्देही उद्योग संघमार्फत यो प्रदर्शनीमा राखिएका फोटाको बिक्री आम्दानी र संस्थागत सहयोगमा प्रदेशस्तरीय पत्रकारिता कोषको स्थापना गर्ने योजना रहेको अध्यक्ष पाण्डेले जानकारी दिए

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %