आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्न हुँदैनः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।
नेकपा एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, “धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।”
उनले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने, “संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।”
सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताए ।

लेखकको सम्वन्धमा