रास्वपा उमेदवार थापाका दुई श्रीमतीबारे अरू आकांक्षी भन्छन्– थाहा नै थिएन !
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आइतबार बेलुका लेखजङ थापालाई रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको लागि आधिकारिक उम्मेदवार घोषणा गर्यो।
थापा उम्मेदवार घोषणा भए लगत्तै उनीमाथि बहुविवाहका आरोपहरू सामाजिक सञ्जालमा छरिन थाले । तर उनी घोषणा हुनुभन्दा पहिला नै अन्य आकांक्षी उम्मेदवारहरूले यसबारे पार्टी पंक्तिलाई जानकारी गराएको दाबी गरेका छन्।
थापामाथि पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेको आरोप छ। तर थापाकै युट्युब च्यानल @lekhjungthapa5205 मा पाँच वर्षअघि सार्वजनिक “सुपर थापा फ्यामिली” नामक भिडियो अपलोड थियो यद्यपि यो भिडियो अहिले हटाईएको छ।
तर पछिल्ला टिकटक फोटा–भिडियोमा दुवै पत्नी (सुलोचना घिमिरे र नुमा शर्मा) सँगै देख्न सकिन्छ।
टिकटकमा नुमाको @lavinooma बाट सुलोचना र नुमाको भिडियो पोष्ट भएका छन। तर अधिकान्स फलोअर हटाएर आईडी प्राईभेट गरिएको छ।
चस्मामा क्यामेरा राखेर बैठकमा बसेको आरोप
यसअघि थापामाथि पार्टीको प्राइमरी इलेक्सन प्रक्रियामा गोप्य क्यामेरा भएको चस्मा लगाएर बैठक रेकर्ड गरेको आरोप पनि लागेको छ। आठ आकांक्षीले सामूहिक उजुरी दिए पनि कारबाही भने भएको छैन।
यता आकांक्षी उम्मेदवारहरू भने थापाको पारिवारिक विवरण नबुझि प्रतिस्पर्धामा आउँदा यो परिणाम भोग्नुपरेको बताउन थालेका छन्। काठमाडौँ र भैरहवा लगातार आई राख्ने थापाको पूर्ण पारिवारिक विवरण भने धेरैले थाहा पाएका छैनन्। यही थाहा नहुँदा अहिले सामाजिक सञ्जालमा बहुविवाहको चर्चाको विषय बन्न पुगेको उनीहरुले गुनासो गरेका हुन् । उम्मेदवार आकांक्षी मधु अर्याल र ज्ञानु पौडेल दुवैले थापाको बहुविवाहको बारेमा कुनै पनि जानकारी नपाएको बताउँछन् ।
एक उम्मेदवार आकांक्षीले नाम नबताउने शर्तमा बैठकमा क्यामेरा भएको चस्मा लगाएर गएको बताए। बाह्रखरीसँगको कुराकानीमा उनले भने ” बैठकमा थापाले चस्मा लगाएर गएका थिए। पार्टीप्रति कुनै जवाफदेही र जिम्मेवारी नदेखी चस्मा लगाएर रेकर्ड गर्ने तथा अन्य माध्यमबाट देखाउने गर्दा बैठकमै विरोध भएको थियो। हामी ८ जनाले माइनट गरेर केन्द्रीय समितिमा पठाएका थियौ । तर केन्द्रीय समितिले यसबारे कुनै पनि निर्णय नलि थापालाई उम्मेदवार घोषणा गर्यो।”
रास्वपाकै मत बिभाजन हुने आशन्का !
उम्मेदवारी दर्ता सुरु हुन बाँकी नै हुँदा थापाको वैवाहिक विवाद रास्वपाभित्रै प्रमुख बहस बनेको छ।
थापाप्रतिको अविश्वासको कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत विभाजन हुने देख्न सकिन्छ। सामाजिक सञ्जालहरूमा रास्वपाका ग्रुपहरुमा उम्मेदवार गर्न सबैभन्दा पहिलो योग्यता बहुविवाह हुनुपर्ने भन्दै आलोचनात्मक ट्रोलहरु हुन थालेका छन्। राप्रपाका नेता दीपक बोहराको निधन भएपछि रूपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुँदैछ। यही कार्तिक १७ गते हुने उपनिर्वाचनमा रासोपाले मात्रै उम्मेदवार टुङ्गो लगाएको छ भने अन्य दलहरुले उम्मेदवार घोषणा गरेका छैनन्।

लेखकको सम्वन्धमा